गोदावरीमा मकर मेला, स्नान गर्नेको घुँइचो
धनगढीः आज माघ १ गते अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ। तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ। माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन्।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ। उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ। उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ। माघे संक्रान्तिको अवसरमा कैलालीको गोदावरी धाममा बाह्र राशि मकर मेलाको आयोजना गरिएको छ।
गोदावरी धाम विकास समितिले मकर मेलाको आयोजना गरेको हो। मकर मेलाको अवसरमा बिहानैदेखि गोदावरीमा स्नान गर्नेहरूको भिड लागेको छ। मकर मेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ। नगरप्रमुख बिरेन्द्र भट्टले मेलामा सहभागी जान आउन सहजताका लागि अत्तरिया, मालाखेती, स्याउले र गेटाबाट ५ वटा बसको व्यवस्था गरिएको बताए।
यस्तै थारु समुदायमा माघीको रौनक छाएको छ। थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। आजदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ।