सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ननफाइलर करदाताको संख्या ९८ हजार

२०८१ मंसिर १, १०:४२ नारायण अवस्थी

धनगढीः राष्ट्रिय कर  दिवस तथा कर सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा कैलालीका कर दाताले नियमित आय विवरण बुझाउन नसकेको तथ्य सार्वजनिक भएको हो।

कैलाली जिल्लाका ३७ प्रतिशत आयकर तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले नियमित आयको विवरण पेस गरेका छैनन्। जसका कारण जिल्लामा ननफाइलर करदाको संख्या ९८ हजार पुगेको छ। कर प्रणालीमा राज्यले सुधार गरेको भए पनि २०६० देखि २०७२ सम्म अनलाइन कर भुक्तानीको सुविधा नभएकाले करदातालाई कर चुक्ताको विवरण लिन समस्या भएकाले कर नबुझाउने करदाताको संख्या अत्यधिक भएको गौरीगङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष खेमानन्द पौडेलले बताए।

'कैलालीमा यो वर्ष मात्रै ननफाइलर अर्थात् नियमित करको विवरण नबुझाउने करदाताको संख्या १७ हजार ४०९ पुगेको छ,' उनले भने, '२०६० देखि २०७२ सम्म म्यानुअल्ली कर दाखिला गर्नुपर्ने अवस्था रहेकाले ननफाइलरको संख्या बढेको हो।'

भ्याटमा दर्ता भएको व्यवसायीले प्रत्येक महिना कारोबारको मासिक विवरण आन्तरिक राजस्व कार्यालयलाई उपलब्ध गराउनुपर्छ। यस्तै करदाताले हरेक आर्थिक वर्षक असोज मसान्तभित्र वार्षिक विवरण भरेर कारोबार बापत हुन आउने कर राज्यलाई तिर्नुपर्छ। कैलालीमा मूल्य अभिवृद्धि कर र आयकर तिरेर पनि विवरण अध्यावधिक नगर्दा व्यवसायीहरू ननफाइलरमा परेका हुन्।

राज्यको झन्झटिलो कर प्रणालीका कारण व्यवसायी मर्कामा परेको  कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताए। 'हाम्रो कर प्रणालीमा धेरै सुधार भएको भनिए पनि अझै प्रक्रिया झन्झटिलो नै छ,' उनले भने, 'करदाताका लागि एकद्वार प्रणाली हुनुपर्नेमा धेरै ठाउँमा पुगेर कर तिर्नुपर्ने अवस्था छ।'

करदाताका लागि व्यवसाय गर्ने र कर तिर्ने सहज वातावरण बन्न सकेको छैन।“ आन्तरिक राजस्व कार्यालय धनगढीले यो वर्षको फागुन मसान्तसम्म करदाताले छुट पाउने जनाएको छ। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० तथा चालु आर्थिक वर्षको आयको विवरण बुझाएरमा करदाता फागुन मसान्तसम्म छुट पाउने भएका छन्।

कर बुझाउन बाँकि रहेका करदाताले फागुन मसान्तसम्म आयकर बुझाए ब्याजमा ७५ प्रतिशत छुट पाउने आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत मोहन बस्नेतले बताए। उनले ननफाइलर करदाताको संख्या घटाउने काम गर्ने बताए। कैलालीमा चालु आर्थिक वर्षमा मात्रै १७ हजार ४०९ करदाताले नियमित विवरण बुझाएका छैनन्। २०६० देखि आजको मितिसम्म कैलालीमा ९४ हजार करदाताले नियमित आय विवरण बुझाएका छैनन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस