सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भट्ट र मल्लले गरे लोभलाग्दो किबीखेती, क्षेत्रफल विस्तार गरिँदै

२०८१ कार्तिक १०, ०२:१९ खबर संवाददाता

डोटीः कृषि ज्ञान केन्द्र डोटीले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ।

दिपायल–सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो। किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले बताए।

दिपायल–सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले ९ वर्षअघि नौवटा किबीका बोट लगाएका थिए। दुई रोपनी क्षेत्रफलमा ९ बोट लगाएर खेती सुरु गरेकोमा अहिले खेती विस्तार गरी ४० बोट पुगाएको उनले बताए। सुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पादन दिन सुरु भएको बताए। हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले बताए।

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए। अहिले बाहिरी जिल्लाबाट पनि माग आउने गरेको छ। उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या नभएको उनले बताए। किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले बताए। काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गर्ने काम गर्दै आएको छ।

आगामी दिनमा एक सय बोट थप गर्ने योजना मल्लको छ। जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गर्दै आएका छन्। ७ वर्षअघि सामाजिक सञ्जाल युट्युबमा भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेका थिए। तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले बताए।

यस वर्षदेखि किबी बिक्री हुने उनले बताए। उनको बारीमा बारीमा चार क्विन्टल किबी छ। बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको उनले बताए। अर्को वर्षदेखि ५०/६० क्विन्टल किबी फल्ने भट्टले बताए। उनले किबीखेती गरिएको क्षेत्रमा विभिन्न किसिमका तरकारी पनि फलाउँदै आएका छन्।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ। जिल्लामा एक हजारभन्दा बढी किबीका बोट छन्। चारवटा फार्म सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख अवस्थीले बताए। जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले बताए।

कमेन्ट लोड गर्नुस