सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलजन्य विपदः पूर्वसूचना प्रणालीले कैलालीमा समुदाय जोगायो

२०८१ असोज २७, ०३:४९ रासस

टीकापुरः हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका स्थानीय विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन्।

कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन्। पूर्वतयारीकै कारण कैलालीमा बाढीका कारण हुने क्षति कम गर्न सहयोग मिलिरहेको संरक्षणकर्मी बताउँछन्। हरेक वर्षको बाढीले आजित भजनीका बासिन्दाले सचेत भई गरेको पूर्वतयारीले जनधनको क्षति जोगाएको छ। यो वर्ष भजनी चार पटक बाढीको चपेटमा पर्‍यो, सबै वडा डुबानमा परे तर पूर्वतयारीका कारण ठूलो क्षति भएन।

गत भदौ ६ गतेको बाढीले भजनीका सबै वडा डुबानमा परे। बाढीले चार हजार बढी परिवार प्रभावित भए। पूर्वतयारीमा सचेत भएकाले घर डुबानमा परे पनि अधिकांशले आफ्ना सरसामान, अन्नपात सबै वस्तु सुरक्षित स्थानमा सार्न सफलता मिलेको भजनी–८ सोनाहाफाटाका संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाले बताए। संरक्षणकर्मी ढुंगानाका अनुसार ठूलो बाढी आए पनि घर खेतमा मात्र क्षति हुने गरेको छ।

स्थानीय बाढीका समयमा सडकमै महिनौँ बिताउने गरेका छन्। भजनीका पदम चौधरी पूर्वानुमानमा आधारित सूचना नियमित हेर्ने गर्छन्। उनलाई सूचनाले ठूलो मद्दत गरेको छ। टीकापुर–८ वनगाउँका पूर्वसूचना समितिका संयोजक रामकृष्ण चौधरी पूर्वसूचना नभएमा धनजनको क्षति हुने भएकाले तटीय क्षेत्रमा पूर्वसूचनाको महत्व बढिरहेको बताएका छन्।

टीकापुर–८ कै मंगली थारूको विगतमा पूर्वसूचना नपाएर धेरै क्षति बेहोरेको अनुभव भए पनि अहिले पूर्वानुमानमा आधारित पूर्वसूचनाले धेरै सहज भएको बताउछन्। टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने मोहना, पथरैया र कर्णाली नदीका विभिन्न क्षेत्रमा राखिएका जलसतह मापन केन्द्र राखिएका भए पनि सूचना कम हुने गुनासो बढेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउछन्।

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले अहिले समुदाय निकै सचेत भएको बताए। समुदायका हरेकले मौसमसम्बन्धी सूचनामा ध्यान दिने गरेको उनको भनाई छ। गत असार २३ गते टीकापुर नगरपालिकामा समेत बाढीले वडा नम्बर ६ र ७ मा डुबान भएको थियो। समुदाय पूर्वतयारीमा सचेत भएकाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई खबर गरे।

नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्। भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने पालिकामा एकै वर्ष चारपटक बाढी आइसकेकाले पालिकाले हजारौँ परिवारलाई राहत दिन नसक्ने भएकाले पूर्वतयारीमा बढी लगानी गरिरहेका बताउछन्। जल तथा मौसम विज्ञान विभाग, महाकाली ‘बेसिन फिल्ड’ कार्यालय अत्तरियाका कार्यालय प्रमुख सञ्जय शाह जलमापन र वर्षामापन केन्द्रलाई स्वचालित बनाउने काम भइरहेको बताउछन्।

अहिले राम्रो भइसकेको अवस्था छ। सुदूरपश्चिममा रहेका ३१ वटा जलमापन केन्द्र पहिला ‘म्यानुअल’ मात्र रहेकामा हाल अटोमेटिक बनाइएको उनले बताए। त्यहाँ सतर्कता तह र जोखिम तहको ‘लेभल सेटअप’ गरिएको उनले बताए। कार्यालय प्रमुख शाहका अनुसार मोहना र खुटिया नदीमा ११ वटा वर्षामापन केन्द्र र १० वटा जलमापन यन्त्र जडान भएका छन्। हाल ती सञ्चालनमा छैनन्। सञ्चालन भएपछि सुदूरपश्चिममा ४२ वटा जलमापन र वर्षा मापन ८९ हुनेछन्। चालीस बढी वर्षा मापन केन्द्र स्वचालित छन्।

कमेन्ट लोड गर्नुस