अछाममा जिप दुर्घटना हुँदा घाइते भएका ६ जना डिस्चार्ज, २ जनाको उपचार हुँदै
अछामः अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका मटेनामा जिप दुर्घटना हुँदा जिपमा चालक सहित ११ जना सवार रहेकोमा ८ जना घाइते भएका हुन्।
चौरपाटी गाउँपालिकाबाट मंगलसैनतिर जाँदै गरेको डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का लक्ष्मण साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२३८ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिप नालीमा खसेको थियो।
घाइते भएका मध्ये ६ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने चौरपाटी गाउँपालिका–२ का १८ वर्षीय प्रेम साउँद र १८ वर्षीया प्रिती साउँदको उपचार भइरहेको छ। घाइते प्रेमको अवस्था मध्यम र प्रितीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मंगलसैनमा जारी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै गरेको जिप दुर्घटनामा परेको हो।