भारतलाई हराउँदै बङ्गलादेश यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा
काठमाडौँः साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो।
टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पारेका थिए। भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो। फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधवार हुनेछ।