पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढीः पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ।
खड्काको मङ्गलवार दिउँसो ११ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएका खड्काको उपचारकै क्रममा निधन भएको हो।
गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए।
महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए। खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो। खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ।