रोहितसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिमहसन आईसीसीको कारबाहीमा
एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ।
आईसीसीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो। आईसीसीका अनुसार उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ। सेन्ट भिन्सेन्टमा आइतवार नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो।
उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भनेका थिए। रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए। नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए। उनकै बलमा रोहित क्याच आउट भएका थिए।