नेपाल लगातार १५ औं पटक एनएसकेए इन्टरनेसनल करातेको च्याम्पियन
काठमाडौंः शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ।
आइतवार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो। प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० कांस्य पदक जितेको छ। यसैगरी १२ स्वर्णसहित भारत दोश्रो बन्यो। उसले १२ स्वर्णसहित ६ कांस्य तथा १२ कांस्य पदक जित्यो।
त्यसैगरी पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली २ स्वर्णसहित तेश्रो बन्यो। दुई स्वर्णसहित यो टिमले ३ रजत र ७ कांस्य पदक जितेको छ। प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समुहमा २९ स्पर्धामा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो।