सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी दूतावासले गर्‍यो सन्दीपलाई भिसा दिन अस्विकार

२०८१ जेठ ९, ०५:२० खबर संवाददाता

क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ।

आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको उल्लेख गरेका छन्। यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधवार सफाइ दिएको थियो।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। हाल नेपाली टोली विश्वकपको तयारीका लागि अमेरिकामा छ। नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेलेपछि विश्वकपको औपचारिक खेल खेल्नेछ।

टी–२० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ।

बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। 
 

कमेन्ट लोड गर्नुस