फारवेष्ट पशुपति गौरीगंगा गोल्डकपको फाइनलमा
धनगढी : कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकपमा फारवेष्ट पशुपति युवा क्लब फाइनलमा पुगेको छ। गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाईनल खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लबफाईनलमा पुगेको हो।
लिक्मा खेल मैदानमा भएको दोस्रो सेमिफाईनलमा खेलमा आयोजक गौरीगंंगा ११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनल पुगेको हो । निर्धारित समय दुबै टोलीले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरमा फारवेष्ट पशुपतिले बाजी मारेको हो । फारवेष्ट पशुपतिका लागि विवेक शाही, पवन थापा र दिपेश ओलीले पेनाल्टीलाई गोलमा परिणत गर्दा शिशिर केसीको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने रोहित बोहोराको प्रहार गोलपोष्टमा लागेर फर्कियो। गौरीगंंगा ११ स्पोर्टस क्लबका लागि सुरज थापाले मात्रै गोल गर्न सके। निर्मल बलको प्रहार फारवेष्टका गोलरक्षक अमानत सेखले बचाए। हरिश भट्टको प्रहार गोलपोष्टमा लागेर फर्किदा टोप बिष्टको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका फारवेष्ट पशुपतिका गोलरक्षक अमानत सेख म्याच अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए।
प्रतियोगिताको फाईनल खेल बिहीबार हुनेछ । फाईनलमा स्टार सिटी युवासँग फारवेष्ट पशुपतिले खेल्नेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।