सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा बासमती धानका बाला झुलेर पहेँलपुर

२०८० असोज २५, १०:५३ कमल सावद

धनगढीः ‘जोरायली बासमती धान’ नेपालका अन्य क्षेत्रमा पाउदैन। रैथाने धानको जात बासमती जोरायल क्षेत्रमा मात्र फल्ने गरेको छ।

बासमती धानका बाला झुलेर पहेँलपुर भएका खेतका फाँट अहिले जोरायल क्षेत्रमा देख्न सकिन्छ। जोरायलमा खेतहरू अहिले रमणीय छन्। जोरायल उपत्यकामा लहलह भएका धानका बाला झुलिरहेको दृश्य निकै रमणीय लाग्छ। धानका फाँट र कलकल बग्ने नदीसहितको वरिपरिको प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जोसुकैलाई पनि आनन्दको अनुभूति गराउँछ। स्थानीय ७८ वर्षीय वृद्ध वासुदेव ओझाले जोरायल क्षेत्रमा धान उत्पादन कम नभएको बताए। नयाँ पुस्तालेसमेत हंसराज जोरायल बास्मती धानको खेती गर्दै आएका उनले बताए। ‘धनगढीको नुन खानेबेला दुःख थिए। अहिले रोड आएका छन्। गाडी आउछन। नुन यतै पाउछ। हाम्रा खेतमा बासमती धान फल्छ। अब कुनै दुःख छैनन्। जनताले खोजेको पनि यही होला,’ उनले भने।

खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण जोरायली बासमती चामलले जोरायल क्षेत्रको पहिचान बनाएको छ। यही फाँटमा फल्ने बासमती चामलको माग सबैतिर बढ्दै गएको छ। बासमती धानको कारोबारसमेत बढ्दै गएको छ। जोरायल क्षेत्रमा बासमती धानको व्यावसायिक खेतीसमेत थालिएको छ। स्थानीय तहको सहकार्यमा युवाहरुले आयआर्जनको स्रोतसमेत बासमती धानलाई बनाएका छन्। जोरायल गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप साउँदका अनुसार बासमती धानलाई बाजारको समस्या छैन। बास्मती धानलाई ग्रेडिङ गरेर बिक्रीको तयारी गरिएको उनले बताए।

युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने प्रवृत्ति बढ््दै गएका बेला जोरायल क्षेत्रका केही युवा भने व्यवसायीक बासमती धानको खेती गर्दै आएका हुन्। उनीहरूले बासमती धानको निर्यात गर्दै आएका छन्। स्थानीय बजारमा लोकप्रिय यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनी जस्ता रैथाने जातको धानखेतीको क्षेत्र भने घट्दै गएको हो। अहिले किसान धान भित्र्याउने तरखरमा छन्। जोरायल गाउँपालिकाका कृषि शाखा प्रमुख साउँदका अनुसार जोरायल गाउँपालिकाको ३ र ४ मा हंसराज जोरायली बासमतीको उतपादन हुँदै आएको छ। एक हेक्टर खेतमा पाँच हजार किलोग्राम बासमती धान उत्पादन हुँदै आएको छ।

मीठो मसिनो हुने भएकोले यो चामल स्थानीय क्षेत्रमा पाइने चामलभन्दा केही बढी मूल्यमा खरिद विक्री हुने गरेको छ। डोटीको जोरायल क्षेत्र बासमती धानका बाला झुलेर पहेँलपुर भएको छ। जिल्लाको जोरायल गाउँपालिका क्षेत्रमा पर्ने उक्त ठाउँमा रैथाने बाली बासमती धानका बालाले मनलोभ्याउने गरेको छ। खेतका फाँटमा सप्रेको धानबालीको दृश्यबाट नै स्थानीय कृषकले गरेको मेहनत र परिश्रम झकिल्छ। कैलाली जिल्लाको सीमासँग जोडिएको डोटीको जोरायल क्षेत्रले रैथाने जातको बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि अलग पहिचान बनाउँदै आएको छ। साथै बासमती धानको व्यवसायी रूपमा उत्पादन हुन थालेपछि किसानको आम्दानीमा समेत वृद्धि हुन थालेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस