सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित,  कृषितर्फको नीति यस्तो

२०८० असार ७, ०९:३८ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। नगरप्रमुख गोपाल हमालले बिहीवार नगर सभाको दसौं अधिवेशनमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको हो।

वार्षिक नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा हासिल भएका विभिन्न ३७ वटा उपलब्धिको विवरण प्रस्तुत गरिएको छ। यस्तै, आगामी आर्थिक वर्षमा आर्थिक विकास, कृषि तथा खाद्य, पशुपन्छी विकास, पर्यटन, रोजगारी, उद्योग, गरिबी निवारण, शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य, महिला बालबालिका, भौतिक पूर्वाधार विकास गर्न उपमहानगरले विभिन्न नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो।
 

कृषि तथा खाद्य कार्यनीति 
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा बजारमा बढ्दो फूलको मागलाई पूरा गर्न वडा नम्बर ६ मा पुष्पखेती प्रदर्शन प्लट तयार गर्ने भएको छ। उपमहानगरले पुष्पखेती श्रोत केन्द्र विकास गर्ने र पुष्पखेती सम्बन्धी सबै सेवा प्रवाह एकै स्थानबाट गने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
 

आर्टिजन बोरिङ निर्माण गर्न नपाइने
धनगढीमा अबदेखि आर्टिजन  बोरिङ निर्माण गर्ने कार्य बन्द गरिने भएको छ। उपमहानगरले आगामी आर्थिक वर्षबाट सिंचाइका लागि आर्टिजन बोरिङ निर्माण कार्य बन्द गर्ने नीति लिइने भएको हो।
 

एक वडा एक कृषि उत्पादन 
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा  "एक वडा एक कृषि उत्पादन" कार्यक्रमको अवधारणा अगाडि बढाउने नीति ल्याइने भएको छ। वार्षिक नीति तथा कार्यक्रममा एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन हुने वडामा एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिने भएको छ।

यस्तै, तरकारी खेतीमा विषादीको बढ्दो प्रयोग कम गर्न आइपिएम कृषक पाठशाला सञ्चालन गरिने भएको छ। आगामी वर्षबाट धनगढी उपमहानगरपालिकाले बजारमा बिक्री गर्न राखेका तरकारीको नमूना सङ्कलन गरि विषादी परीक्षण गर्न नगरस्तरीय प्रयोगशाला स्थापना गरिने भएको छ।
 

जाली गाउँ माछा पर्यटकीय स्थलको रुपमा विकास गरिने
धनगढी उपमहानगरले माछापालनको क्षेत्र विस्तारको नीति लिने भएको छ। नगर क्षेत्रभित्रका प्राकृति ताल तलैयाको संरक्षण र व्यवस्थापन गरी माछाको उत्पादन बढाउने नीति उपमहानगरले अङ्गिकार गर्ने भएको छ। वडा नम्बर ६ को जाली गाउँलाई माछा पर्यटकीय स्थलको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस