कृषि ज्ञान केन्द्रको अनुदानपछि कृषकको आकर्षण बढ्यो स्याउ खेतीमा
बाजुराः बाजुरामा स्याउ खेती फस्टाउँदै गएको छ। कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती विस्तार गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फस्टाउँदै गएको हो।
केन्द्रको पहल तथा अनुदानमा बाजुरामा उत्पादन गरेका स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेको छ। स्याउको माग पछिल्लो समय जिल्ला बाहिर पनि हुन थालेपछि बाजुराका किसानको स्याउ खेती प्रति आकर्षण बढ्दै गएको छ। केही समय अघि बाजुराका किसानले स्याउ गाई गोरुलाई खुवाउँथे। बाजुरामा उत्पादन भएको अर्ग्यानिक स्याउको कतै माग नहुदा तथा बजार नपाउँदा यहाँका किसान स्याउ टिपेर गाई गोरुलाई खुवाउन बाध्य हुन्थे।
पछिल्लो समय कृषि ज्ञान केन्द्रको पहलमा बाजुरामा उत्पादन भएको स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेपछि यहाँका किसानको स्याउ खेती प्रति आकर्षण बढेको हो। अहिले कृषि ज्ञान केन्द्रले किसानको बैगचामा नै पुगेर स्याउ देशका विभिन्न ठाउँमा बिक्री गर्न आफैँले अनुदान दिन थालेपछि किसानलाई स्याउ खेती प्रति निकै चाँसो बढेको छ। स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिदा कृर्षकमा थप उर्जा पैदा भएको छ।
कृर्षि ज्ञान केन्द्रले अहिले बारीबाट नै स्याउ उठाउन थालेपछि फेरि स्याउ खेतीमा आकर्षण बढ्दै गएको बाजुराका स्याउ किसान बत्ताउँछन्। पहिला बाजुराको हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो। अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको सूचना अधिकारी मीन प्रसाद जैशीले बताए।