बाजुरामा २ कृषि एम्बुलेन्स सञ्चालनमा आउने
धनगढीः बाजुरामा २ वटा कृषि एम्बुलेन्स सञ्चालनमा आउने भएका छन्। जिल्लाको हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा एक/एक वटा कृषि एम्बुलेन्स सञ्चालनमा आउने भएका हुन्।
जिल्लाका किसानले उत्पादन गरेको रैथाने कृषि उत्पादनलाई बजारसम्म ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने छ। जिल्लाको कृषि उत्पादनले बजार नपाएर खेर जान थालेपछि सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश शाहीको आग्रहमा संघीय सरकारले कृषि एम्बुलेन्सका लागि बजेट विनियोजन गरेको हो।
संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुषालले बाजुरामा कृषि एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिदिएका मन्त्री शाहीले बताए। बाजुराका स्थानीय तहहरुले मन्त्री भुषालको कामको स्वागत गरेका छन्। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले कृषकलाई गाउँगाउँमा फलफूलका विरुवा रोप्न लगाउने बताए। उनले कृषि उत्पादनले बजार पाउने बताए।
त्यस्तै स्वामीकार्तिक खापार गाउँपालिकाका अध्यक्ष भरत रोकायाले हरेक वर्ष फलफूल बोटमै कुहिदै गएको बताए। उनले कृषि एम्बुलेन्सले रैथाने बालीले बजार पाउने बताएका छन्।
जिल्लाको जगन्नाथ गाउँपालिकामा चिस्यान घर निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ।