मझगाउँ विमानस्थलमा जग्गा विवाद, शिलान्यास भयो काम भएन
धनगढीः तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुस २८ गते मझगाउँ विमानस्थलको शिलान्यास गरे।
आलेले विमानस्थलमा भौतिक संरचना निर्माणका लागि शिलान्यास गरेको दुई वर्ष बढी भएको छ। शिलान्यास गरिएको दुई वर्षसम्म जग्गाको विवाद टुंगो लागेको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र रत्न बाटिकाको जग्गा विमानस्थलको मातहतमा ल्याउन सकिएको छैन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमखु पदम बोगटीले जग्गाको विवाद समाधानको प्रयास जारी रहेको बताए। उनले भने, 'आर्मीको पृतनापतिसँग बसेका थियौ। फाइल मन्त्रिपरिषदमा पठाएका छौ। काम रोकिएको छैन। रत्न बाटिकासँग पनि छलफलमा छौ। उहाँहरु पनि तयार हुनुहुन्छ। समितिसँग वार्ता भएको हो।'
२२ वर्षदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनका लागि निर्माणको काम सुरु गरिएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेर काम हुँदैछ। विमानस्थलमा अन्य भौतिक संरचनाहरु निर्माणको काम जारी भए पनि जग्गा विमानस्थलको मातहतमा आउन बाँकी छ। निमार्ण कम्पनीले काम जारी राखेको नगरप्रमुख बोगटीले बताए।
विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको थियो। यस्तै, विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधारा–चाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम रहने सहमति भएको थियो। विमानस्थलको लम्बाइ एक हजार ६ सय ६२ मिटरको रहने छ।
यस्तै, ६६ बिघा जमिनमा विमानस्थल रहने जनाइएको छ। मझगाउँ विमानस्थल २०२४/२५ सालतिर बनिसकेको थियो। तर द्धन्द्धका कारण बन्द रहेको विमानस्थल निर्माण थालिएको हो। नेपाल नागरिक उड्डन प्राधिकरणका प्रतिनिधि मीनराज ओझाले विमानस्थल सुधारको काम नरोकिएको भए पनि केही दिनभित्र जग्गाको विवाद टुंगो नलागे समस्या हुने बताए। अहिलेसम्म विमानस्थल सुधारको १५ प्रतिशत काम मात्र भएको छ। उत्तरमा चुरे पहाड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डेढ किलोमिटर लामो झोलुंगे पुल लगायतका क्षेत्र सोहि आसपास छन्। यसबाहेक मानसरोवर जाने, सुदूरपश्चिमका अरू जिल्ला भ्रमणमा आउनेलाई पनि राहत हुने भन्दै विमानस्थल निर्माणको काम सुरु गरिएको छ।