चन्द्रागिरी केबलकारमा यात्रु फसे, चार घण्टापछि उद्धार
काठमाडौँः चन्द्रागिरी केबलकारमा यात्रु फसेका छन्। लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा यात्रु फसेका हुन्। उनीहरुको चार घण्टापछि उद्धार गरिएको छ।
सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रवार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए। केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा तानेर चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो।
यात्रुलाई सकुशल उद्धार गर्न प्राविधिक, प्रहरी तथा चिकित्सक टोली खटाइएको थियो। यात्रुको उद्धारपछि चन्द्रागिरी केबलकार कम्पनीले शुक्रवार राति आफ्नै सवारीसाधनमा चढाएर घरघरमा पु–याइदिएको थियो।