कैलालीमा एक सय हेक्टरमा चैते धानखेती विस्तार
धनगढीः कैलालीमा बाढीका कारण वर्षे बाली हुने क्षेत्रमा प्रदेश सरकारले एक सय हेक्टरमा चैते धान खेती विस्तार गरेको छ।
जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका तथा जोशीपुर र कैलारी गाउँपालिकामा चैते धानखेती विस्तार गरिएको हो। जिल्लामा गत वर्ष एक हजार ८० हेक्टरमा चैते धानखेती गरिएको थियो। अहिले ती क्षेत्रमा चैते धान रोपाइँको चटारो छ। किसानले मसुरो र गहुँ बाली स्याहार्ने र चैते धान रोप्ने चटारो सकिएको छ।
वर्षामा लगाएको धान बाढीले बगाउने र पुर्ने गरेको हुनाले सो क्षेत्रका बाढीपीडित किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन्। सबैभन्दा बढी चैते धानखेती भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ मा हुने गरेको प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए।
वर्षे धानबाली प्रतिहेक्टर चार टनको औषतमा फल्छ भने चैते धान प्रतिहेक्टर पाँच टनको औषतमा फल्ने गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक समूह र कृषि सहकारीमार्फत् मुख्यमन्त्री नमुना कृषि गाउँ, ब्लक प्रदर्शन, धानबाली प्रवद्र्धन र चैते धानखेती कार्यक्रम लागू गरिएको छ।
कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय पालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रानी–जमरा–कुलरिया सिंचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा भजनी, टीकापुर, जोशीपुर, जोशीपुर, घोडाघोडी, कैलारीमा चैते धानखेती गर्न विस्तार भइरहेको छ।