सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उत्पादित कृषि उपजले सजियो महोत्सव स्थल

२०७९ मंसिर २४, १०:५३ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम महोत्सवमा डडेल्धुराको अर्गानिक किवी विक्री गर्न राखिएको छ। घोडाघोडीको मह, निगालीको सुन्तला, धनगढीको अचार, बैतडीको सख्खर बझाङको सिस्नुको पाउडर र दार्चुलाको चिउरीको मह पनि महोत्सवमा राखिएको छ।

प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित अर्गानिक खाद्यान्न र दालहरू पनि महोत्सवमा विक्री भइरहेको छ। बिहीबारदेखि धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवमा हिमाली, पहाडी र तराईका जिल्लामा उत्पादित अर्गानिक कृषि उत्पादनका स्टलहरू राखिएका छन्।

किसानहरूले आफ्नो जिल्लाको कृषि उपजको प्रचारप्रसार र बिक्री गर्ने अवसरको रुपमा किसानले उपयोग गरिरहेका छन्। सुदूरपश्चिमको उद्योग, पर्यटन, कृषि, कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्येश्य राखेर २०६३ देखि सुदूरपश्चिम महोत्सव धनगढीमा आयोजना गरिदैँ आएको छ।

बझाङको छविसपाथिभेराका गोरखबहादुर धामीले भाङो, सिमी, सिस्नुको धुलो, दाँते ओखर, कोदो, जौ, बेथे, आलुलगायतको अर्गानिक उत्पादन महोत्सवमा विक्रीका लागि राखेका छन्। उनले बझाङकै मूल्यमा ती सामग्री विक्री गर्दै आएका छन्।’ हामीले बझाङकै मूल्यमा अर्गानिक उत्पादन विक्री गर्न ल्याएका छौँ।

कृषि ज्ञान केन्द्र, बझाङले स्टल बुकिङ र यातायात खर्चमा सहयोग गरेको छ। बझाङको हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज ल्याएका छौँ।’ उनले भने। धनगढी उप–महानगरपालिका–९ बङ्ग्राकटानका शान्तिदेवी गिरीले महोत्सवमा विक्री गर्न ९ किसिमका अचार राखेकी छन्।

शान्ति वाटीका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका गिरीले सुपथ मूल्यमा अचार विक्रीमा राखेको बताइन्। पाँच वर्षदेखि अचार उत्पादन र विक्री गर्दै आएको र महोत्सवमा राम्रो प्रचारप्रसार र विक्री हुने उनको अपेक्षा छ। ‘अचार उत्पादन र विक्री गर्न थालेको पाँच वर्ष भएको छ।

महोत्सवमा राम्रो प्रचारप्रसार र विक्री हुने अपेक्षा छ।’ उनले भनिन्। त्यस्तै डडेल्धुराका किसान गणेशबहादुर ऐरले महोत्सवमा आफ्नै बारीको कृषि उपज विक्रीमा राखेका छन्। पहिलो पटक महोत्सवमा आएका ऐरले डडेल्धुराको किवीको प्रचारप्रसार र विक्री गर्ने लक्ष्य राखेका छन्। 


यो वर्ष मोत्सवमा किसानहरूले मह, अचार, विभिन्न फलफूलदेखि उच्च पहाडी र हिमाली क्षेत्रमा हुने खाद्यान्न विक्रीका लागि राखेका छन्। किसानहरूलाई उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्रहरूले महोत्सवमा स्टल बुकिङदेखि यातायात खर्चमा सहयोग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस