७ सय पर्यटक तथा गाइड अलपत्र
काठमाडौँः भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा अलपत्र परेका छन्।
ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाका अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र परेका हुन्।
‘मनास्लु,अन्नपूर्ण र धौलागिरिमा गएका ५ देखि ७ सय स्वदेशी तथा विदेशी पहिरोका कारण अलपत्र परेको जानकारी टानमा आइपुगेको छ,’ महासचिव सापकोटाले भने, ‘जोमसोमदेखि बेनीको बाटो बिग्रेकाले त्यो रुटमा पनि पर्यटक अड्किएका छन्। ’ टानका अनुसार, सेप्टेम्बर महिनामा मात्रै करिब २८ सय वटा पदयात्रा अनुमति कार्ड (टिम्स कार्ड) जारी भएका थिए। टानबाहेक पर्यटन बोर्डले पनि टिम्स जारी गर्छ। उसले बिक्री गरेको टिम्स कार्डको संख्या खुलेको छैन।
उनका अनुसार, लुक्ला र खुम्बु क्षेत्र जाने २ हजार पर्यटक तथा नेपाली गाइड रामेछापमा अलपत्र परेका थिए। तीमध्ये आइतबार कम्तीमा ३ सय जना काठमाडौं फर्किएका छन्। उनले केही पर्यटकलाई अल्टीच्यूटको हेलिकप्टरले १० खेप उडान गरेर लुक्ला र सुर्केसम्म पुर्याइदिएको छ।
यसैबीच मनास्लुबाट आइतबार कम्तीमा १ सय २० जना मनास्लुबाट हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याइदिएको टानले जनाएको छ। उद्धार गरिएकाहरुले पर्यटक तथा गाइडले व्यक्तिगत रुपमा हेलिकप्टरलाई शुल्क तिरेको उसले जनाएको छ।
टानका अध्यक्ष निलहरि बाँस्तोलाका अनुसार, यस पटकको वर्षा र पहिरोका कारण अलपत्र पर्नेमा अधिकांश फ्रेन्च नागरिक छन् । उनका अनुसार, ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेका छन् । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिए पनि फेला परेका छैनन्।