सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट गोवातर्फ गइरहेको बस दुर्घटना, ४ नेपालीको मृत्यु

२०७९ भदौ १८, ०२:१९ खबर संवाददाता

धनगढीः भारत उत्तर प्रदेशस्थित बारम्बकीमा यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ। नेपालबाट गोवातर्फ गइरहेको बसलाई आज बिहान महुंगुपुर गाउँनजिकैको सडक किनारमा रोकिराखेको अवस्थामा एक ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा ५० जना घाइते भएका छन्। बसमा सवार सबै यात्रु नेपाली रहेको बताइएको छ।

मृत्यु हुनेमा बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का प्रेम थारु र शितल थारु, दाङ तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर ओली छन्। एक जनाको सनाखत हुन बाँकी रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय मिडियाका अनुसार दुर्घटनाका घाइतेमध्ये चार जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। नेपालदेखि छुटेको बसको गन्तव्य गोवा थियो। बसको टायर पङ्चर भएपछि चालकले सडकको किनारमा रोकेका थिए। खबर पाउनासाथ घटनास्थलमा पुगेको भारतीय पुलिसले अनुसन्धान सुरु गरेको छ। बाराम्बकीस्थित जिल्ला अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। गम्भीर घाइते ६ जनालाई लखनऊ ट्रमा सेन्टर रेफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाका बेला धेरैजसो यात्रु सुतिरहेका थिए। 

महुंगु गाउँनजिकै बसको पछिल्लो टायर पङ्चर भयो। चालकले गाडी रोकेर टायर बदले। रोकिएकै अवस्थामा पछाडिबाट एक ट्रकले बसलाई ठक्कर दियो। एएसपी पुर्णेन्जु सिंहका अनुसार दुर्घटनामा मृत्यु भएका चार जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ। घाइतेहरूलाई अस्पताल भर्ती गर्ने व्यवस्था मिलाइएको उनले बताए। 

दुर्घटनामा परेको डबल डेकर बसमा सवार सबै यात्री नेपाली थिए। उनीहरू गोवा भ्रमणमा जाँदै थिए। अधिकांश यात्रु गोवामै बस्थे। उनीहरू केही दिनअघि मात्र नेपाल आएका थिए। यात्रुमध्ये कतिपय पहिलोपल्ट घरबाट निस्केका थिए।

कमेन्ट लोड गर्नुस