भारतमा नेपाली युवाले श्रीमती र छोरीको हत्यापछि गरे आत्महत्या
चंडिगढ: भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन्। बाग्लुङको गलकोट नगरपालिका–४ नुवाकोटका २६ वर्षीय रेशम विक, उनकी श्रीमती २४ वर्षीय पूजा र ३ वर्षीया छोरी शिवाङ मृत भेटिएका हुन्।
सोमबार बन्द कोठामा तीनै जना मृत फेला परेका र कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला दबाएर हत्या गरेपछि आफू पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको आशंका छ। चंडिगढबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले श्रीमतीको अवैध सम्बधको आशंकाले छोरी र श्रीमतीको हत्या गरी रेशमले आत्महत्या गरेको बताएका छन्।
अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ । थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन्। पूजा यही १२ अगस्त २०२२ मा नेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन्।