किसानलाई सुदूरपश्चिम सरकारको राहत
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ। गत वर्ष असोज, कात्तिक महिनामा परेको पानीले डडेल्धुराका सातवटा स्थानीय तहमा बालीनाली बगाएको थियो।
बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल एवं पशुविज्ञ केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणका आधारमा पीडितलाई राहत वितरण गरिन लागेको जनाइएको छ। धानबाहेक कृषिबाली र पशुपन्छीमा भएको क्षतिअनुसार राहत उपलब्ध गराउन लागेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति संयोजक मोहनराज जोशीले बताए। धानमा भएको क्षतिको राहत वितरणका लागि प्राप्त भएको ७५ लाख रुपियाँमध्ये ७२ लाख रुपियाँ पीडितलाई वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
क्षतिको विवरणअनुसार हुन आउने रकम पीडितका बैङ्क खातामा जम्मा गरिएको उनले बताए। अहिले पनि ठूलो रकम र बैङ्कमा खाता भएकालाई खातामा नै र बैङ्कको पहुँचमा नभएकालाई पालिकाले घरमै राहत रकम पु(याउने निर्णय भएको उनले बताए। कृषि विकास अधिकृत चन्द्रदेव भट्टका अनुसार ६६६ जनाको अन्नबालीमा क्षति भएको विवरण कृषि ज्ञान केन्द्रमा सङ्कलन भएको छ। डडेल्धुरामा जम्मा ३९ लाख १६ हजार तीन सय रुपियाँ बराबर क्षति भएको विवरण सङ्कलन भएको छ। यस्तै पशुपन्छीतर्फ ५० जना स्थानीयले पालेका पशुपन्छीमा भएको क्षतिको रकम तीन लाख ६१ हजार रुपियाँ बराबर रहेको विवरण सङ्कलन प्राप्त भएको पशु विकास अधिकृत देवराज भट्टले बताए।