सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा उपचार नपाएरै जान्छ सिकलसेल विरामीको ज्यान

२०७९ जेठ २२, ११:०३ रोशन भट्ट

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकाका वडा नम्बर ११ का टेकबहादुर चौधरीकी छोरीलाई सिकलसेल एनिमिया पुष्टि भयो। सिकलसेल पुष्टि भएसँग उपचार पनि भइरहेको थियो उनको। 

तर उनको स्वास्थ्य उपचार भने सहज थिएन। सरकारले वर्षमा एक लाख सम्मको उपचार निःशुल्क गर्ने जनाए पनि त्यो सहज रुपमा चौधरीले पाइनन्। स्थानीय तहको सिफारिस लगायतका झन्झटका कारण चौधरीको उपचारमा समस्या थियो। उपचार गर्दागर्दै उनको शुक्रबार मृत्यु भएको छ। 

सरकारले निःशुल्क दिने सेवा सहज नभएकै कारण उनको ज्यान गएको आरोप आफन्तको छ। ‘छोरीको उपचार गर्दा गर्दै ज्यान गयो,’ मृतक चौधरीका बुवा टेकबहादुरले भने, ‘सरकारले दिएको निःशुल्क स्वास्थ्य सेवा भने हामीले पाएनौं।’

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बासोबास गर्दै आएका थारु समुदायमा यसको प्रभाव बढी छ। विगत लामो  समयदेखि यसको उपचारमा सरकारले बजेट खर्च गर्दै आएको छ। तर सरकारको निःशुल्क सेवा प्रभावकारी देखिएको छैन। विभिन्न शिविर तथा सचेतनामूलक कार्यक्रममा मात्रै लाखौं बजेट खर्च हुँदै आएको भए पनि बिरामीले सहज उपचार सेवा नपाएका हुन्। 

सरकारले सिकलसेलका बिरामी पत्ता लगाउन नै सकिरहेको छैन। यता सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशी भने सिकलसेलका क्षेत्रमा पछिल्लो समय विभिन्न कार्यहरु सञ्चालन भइरहेको बताए। ‘एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क गरिएको छ,’ उनले भने।

सिकलसेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। सुदूरपश्चिममा यो रोग थारू समुदायमा बढी देखिएको छ। अहिले सेती प्रादेशिक अस्पतालबाट मात्रै ७ सय ५० भन्दा बढी बिरामीले उपचार सेवा लिदै आएका छन्। तर उक्त स्वास्थ्य उपचार सेवा सहज नभएको गुनासो गरिएको छ। 

सिकलसेल एनिमियाको संक्रमण पुष्टि भए रगतको अभाव हुन्छ। त्यसकारण पनि विरामी ज्यान जानेसक्ने खतरा बढी हुन्छ। वर्षमा एक लाखसम्मको उपचार निःशुल्क गरेको सरकारले सिकलसेल पहिचानमा पनि विशेष ध्यान दिनुपर्ने माग बिरामीका आफन्तहरुको छ। यो रोग अहिले अन्य समुदायमा पनि देखिन थालेको छ। सुदूरपश्चिमकै डडेल्धुरामा पनि सिकलसेल एनिमिया पुष्टि भएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस