सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ लागे कर्मचारी

२०७९ वैशाख २६, ०६:३७ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा वैशाख ३० हुनेस्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। राजनीतिक दल तथा उम्मेदवारहरु मत माग्नमा व्यस्त भएका बेला आयोग भने आफ्नो आन्तरिक तयारीमा जुटेको छ।

कैलालीमा ६ सय १९ मतदान केन्द्र तोकिएका छन्। उक्त केन्द्रहरुमा ४ हजार ९ सय ५२ बढी कर्मचारी खटिने आयोगले जनाएको छ। अहिले कर्मचारीहरु निर्वाचन सामग्रीसहित आफ्नो केन्द्रतर्फ लागेको मतदान अधिकृत गोविन्द देवकोटाले बताए। ‘अहिले आयोगबाट सामग्री बुझियो। अब केन्द्रतर्फ लाग्छौं। प्रावधान अनुसार निर्वाचन सम्पन्न गर्नका लागि हामी तयारी अवस्थामा छौं,’ उनले भने। 

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम पनि दिइएको छ। जिल्लाका १३ ओटै स्थानीय तहमा खटिने कर्मचारीलाई निर्वाचन आयोगले तालिम दिएको हो। उक्त तालिम सम्पन्न गरेसँगै कर्मचारीहरु सोमबारदेखि आफुलाई खटाइएको केन्द्रमा जान थालेका छन्। आयोगले उपलब्ध गराएको निर्वाचन सामग्रीसहित उनीहरु आफ्नो केन्द्रतिर लागेका छन्। मतदान केन्द्रमा जान लागेका अधिकृत दिपेन्द्र परियारले पनि चुनाव पूरा गर्नका लागि तयार भएको बताए। ‘सामान बुझेर मिलाउने काम गर्दै गरियो। नियम अनुसार नै काम गर्ने हो’ उनले भने।

शुक्रबार हुने मतदानका लागि निर्वाचनमा खटिने कर्मचारीले मंगलबार साँझसम्म केन्द्रमा पुगिसक्नु पर्नेछ। आवश्यक सामग्रीसहित उनीहरु मौन अवधि सुरु हुनुभन्दा अगाडि केन्द्रमा पुग्नुपर्ने प्रावधान छ। सुरक्षा निकायसँग सामग्रीसहित केन्द्रमा पुग्नुपर्ने आयोगले जनाएको छ। 

त्यसकारण पनि कर्मचारीहरु सोमबारदेखि नै आफ्नो केन्द्रमा जान थालेका छन्। मतदान अधिकृत पुनम रेग्मीले आफ्नो केन्द्रका बारेमा समेत जानकारी लिएको बताइन्। ‘मेरो केन्द्र गौरीगंगा नगरपालिकामा परेका छ। मैले केन्द्रको अवस्थाबारे पनि बुझेको छु। थप तयारी तीव्र रुपमा भइरहेको छ,’ उनले भनिन्। 

सुदूरपश्चिममा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७ सय ३४ वडाध्यक्ष र दुई हजार ९ सय ३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८ सय ४६ जनप्रतिनिधि निर्वाचित हुने छन्। अहिले प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन्। २७ गते मंगलबार राति १२ बजेबाट मौनअवधि सुरु हुनेछ छ, भने वैशाख ३० गते विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस