धनगढीका उम्मेदवारको एजेण्डा– ‘लागूऔषधमुक्त वडा बनाउँछौं’
धनगढी: धनगढी उपमहानगरपालिकाका अधिकांश वडाहरु भारतसँग जोडिएका छन्। मुख्य बजारसहितका अन्य वडाबाट भारतका विभिन्न क्षेत्रमा सहजै आउजाउ गर्न सकिन्छ। ती वडाबाट भारतमा पाइने लागूऔषध ओसारपसार भइरहेको हुन्छ। यतिसम्म कि भारतमा पाइने लागूऔषधको डिलरसमेत धनगढी लगायतका ठाउँमा भएको आकलन प्रहरीको छ।
त्यसकारण पनि आउने निर्वाचनका लागि उम्मेदवार बनेकाहरु लागूऔषध नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन्। धनगढीको वडा नम्बर २ मा अध्यक्षकी उम्मेदवार बनेकी विष्णु पुरी भन्छिन्, ‘कुलतमा फसेका युवालाई सुधार गरिन्छ। त्यसपछि उनीहरुलाई नै सिपमुलक तालिम दिएर सम्वृद्ध वडा निर्माण गरिन्छ।’
धनगढीका एकै वडामा विभिन्न दल तथा स्वतन्त्र गरी ६ जनासम्म अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनीहरुले सामाजिक, आर्थिक तथा सांस्कृतिक मुद्दालाई जोड दिएका छन्। तर कतिपय उम्मेदवार भने योसँगै लागूऔषधको मुद्दालाई देखाएर पनि भोट मागिरहेका छन्।
धनगढीका विभिन्न वडाका अधिकांश युवाहरु कुलतमा फसेका छन्। १२ वर्ष उमेर भन्दामाथि देखि नै कुलतमा फस्ने गरेको विभिन्न तथ्यांकले देखाउने गरेको छन्। सोही कारण युवा पुस्तालाई सुधार गर्नका लागि अहिलेका उम्मेदवार आफ्नो चुनावी एजेण्डा नै लागूऔषध नियन्त्रणलाई बनाएका छन्। धनगढीको वडा नम्बर ३ मा अध्यक्षका उम्मेदवार ओमबिक्रम चन्दले पनि आफ्नो प्राथमिकता नै लागूऔषध नियन्त्रण रहेको बताउँछन्। ‘म लागूऔषधमुक्त वडा बनाउन चाहान्छु’ उनले भने, ‘कुलतको दलदलमा फसेको युवा पुस्तालाई यसबाट मुक्ति दिन आवश्यक छ।’
धनगढीसहित पूरै जिल्ला नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। डरलाग्दो रुपमा फैलिएको लागूऔषको जालो भत्काउनका लागि विभिन्न निकायहरु अझै सफल हुन सकेका छैनन्। तर, आउने निर्वाचका लागि उम्मेदवार बनेकाहरुले भने चुनौतिको सामना गर्ने आँट देखाएका छन्।
लागूऔषधको दलदलमा पसेको युवा पुस्तालाई सुधार्ने दाबी उनीहरुको छ। लागूऔषधकै कारण भित्रभित्रै ध्यस्त भएको युवा पुस्ताको समस्या समाधान गर्न उम्मेदवार बनेको धनगढीको वडा नम्बर ५ मा अध्यक्षका उम्मेदवार बनेका गजेन्द्र शाहीले बताए। ‘लागूऔषधको क्षेत्रमा मलाई पनि काम गर्नुछ। लागूऔषधबाट नै धेरैको ज्यान जाने गरेको छ। त्यसकारण पनि यसमा काम गरेर देखाउँछु,’ उनले भने।