सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको एक्लो डायलासिस वार्डको सेवा प्रभावित, बिरामीको बिचल्ली

कर्मचारीले पाएनन् तलब

२०७९ वैशाख १९, ०६:११ रोशन भट्ट

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाकी हरिप्रीया जोशीका श्रीमान मृगौला पीडित हुन्। विगत ८ वर्षदेखि उनलाई मृगौलाको समस्या छ। पछिल्लो दुई वर्ष यता उनी धनगढीको सेती प्रादेशिक अस्पतालबाट डायलासिस गर्दै आएका छन्। धनगढीमै कोठा भाडामा लिएर डायलासिस गर्दै आएका उनी एक हप्तामा तीन पटक डायलासिस गर्दै आएका छन्। 

पछिल्लो पटक उनले आइतबार डायलासिस गर्नुपर्ने थियो। तर उक्त दिन  सेवा नै उपलब्ध नभएपछि विरामीलाई निकै समस्या भएको हरिप्रीया जोशीले बताइन्। ‘सेवा बन्द भयो। अब विरामी लगेर कता जाने ? दुखित छौं हामी,’ उनले भनिन्।

धनगढी वडा नम्बर १ का रोशन गौतमका बुवा पनि मृगौला पीडित हुन्। उनी पनि विगत पाँच वर्षदेखि डायलासिस गर्दै आएका छन्। मृगौलाका बिरामीले नियमित डायलासिस गर्न नपाए समस्या हुने गरेको छ। यति मात्रै होइन, विरामीको मृत्यु हुने जोखिम पनि उत्तिकै हुन्छ। त्यसकारण पनि डायलासिस सेवा दुई दिन प्रभावित भएपछि विरामीका आफन्तहरु आत्तिएको रोशन गौतमले बताए। ‘मृगौलाका विरामीको डायलासिस नभएपछि मृत्यु हुने खतरा बढी हुन्छ,’ उनले भने, ‘यो त सेवा प्रभावित गरेर मानव स्वास्थ्यमाथि खेलवाड गर्ने काम भइरहेको छ।’

सेती प्रादेशिक अस्पताल र विरङ्ग हेल्थ केयरबीच भएको सम्झौता अनुसार उक्त डायलासिस सेवा सुरु भएको थियो। अहिले १० वटा मेशिनमार्फत उक्त सेवा प्रदान भइरहेको छ। एक हप्तामा ८० जनाभन्दा बढी मृगौलाका विरामीले त्यहाँबाट सेवा लिँदै आएका छन्। 

तर पछिल्लो ५ महिनादेखि १२ जना कर्मचारीले तलब नपाएको भन्दै सेवा बन्द गरेको डायलासिस सेवाकी नर्सिङ इन्चार्ज सिर्जना बुढामगरले बताइन्। ‘४ देखि ५ महिना भयो। तलब नै नपाएको अवस्था छ। तलब नपाउँदा पनि काम गर्दै आएका थियौं। हामी पनि काम गरेर खाने मान्छे हो। कतिपय कर्मचारीहरु भाडामा बस्दै आएका छन्’ उनले भनिन्, ‘अहिले आइतबार र सोमबार सेवा बन्द गरेका छौं। यसको कारण तलब नपाउँनु नै हो। हामी अब तलबबीना काम गर्न सक्ने स्थितिमा छैनौं।’ 

कर्मचारीलाई तलब उपलब्ध गराउने जिम्मा काठमाडौंको विरङ्ग हेल्थ केयर नामक संस्थाको हो। उक्त संस्थाले १२ जना कर्मचारीलाई ५ महिनासम्म तलब दिन सकेको छैन। जसका कारण सेवा प्रभावित भएको भएको छ भने, बिरामीको बिचल्ली भएको छ। 

तर विरङ्ग हेल्थ केयर काठमाडौंका लेखाका कर्मचारी राजिव शाक्यले सेवा बन्द नभएको दाबी गरे। ‘तलब किन उपलब्ध भएन भन्ने आन्तरिक कुरा हो। त्यो तपाइलाई भन्न आवश्यक छैन,’ उनले भने, ‘सेवा बन्द भएको छैन। हिजो बिदा थियो। आज सेवा उपलब्ध छ।’

आफ्नै कर्मचारीलाई ५ महिनासम्म तलब दिन नसक्ने विरङ्ग हेल्थ केयरले मानव स्वास्थ्यमाथि पनि खेलवाड गरेको आरोप लागेको छ। तर सेती प्रादेशिक अस्पताल यसबारे मौन छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस