चुनाव चिह्न पाएपछि झनै ताते कैलालीका उम्मेदवार
धनगढीः स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै गएको छ। निर्वाचन आयोगले पनि आफ्नो कार्यतालिका अनुसार शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ।
धनगढीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका अन्य स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेसँगै जिल्लाको चुनावी माहोल झन् तातेकाको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार गत ११ र १२ गते गरिएको मनोनयन दर्ताको चुनाव चिह्न शनिवार प्रदान गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। ‘आज चुनाव चिह्न प्रदान गरिएको छ। अब उम्मेदवारहरु मत माग्छन्। हामी प्रशासनतर्फको काम गर्दैछौं,’ उनले भने।
प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढीका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि शनिवार चुनाव चिह्न पाएका छन्। विशेषगरी ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। २०७४ को स्थानीय निर्वाचनमा पनि स्वतन्त्र रुपमा नै चुनाव लड्दा १० हजार बढी मत पाएका हमाल शनिवारदेखि चुनाव चिह्नसहित मत माग्न थालेका छन्। ‘आँप हाम्रो चुनाव चिह्न भयो मौसम अनुसारको। मौसम स्वतन्त्रको छ। चुनाव चिह्न पनि मौसम अनुसारकै आँप प्राप्त भएको छ। आजदेखि हामी चुनाव चिह्न मतदाताको घरघरमा पुगाउने प्रयास गर्छौं,’ उनले भने।
धनगढी उपमहानगरपालिकाकै मेयरका स्वतन्त्र उम्मेदवार नवराज पन्तले भने चुनाव चिह्न कैँची पाएका छन्। उनले पनि चुनाव चिह्न पाएसँगै मत माग्न थालेको बताए। ‘मेरो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य नै हो,’ उनले भने, ‘बाटाघाटा त बिस्तारै बन्दै जाने कुरा हो।’
उपमहानगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले चुनाव चिह्न आँप नै पाएका छन्। यस्तै वडाध्यक्षका स्वतन्त्र उम्मेदवार सिद्धराज पनेरु, पदमराज भट्ट, यम लामिछाने, कमलसिंह ढाँटले पनि चुनाव चिह्न आँप नै पाएका छन्। अन्य केही उम्मेदवारीले पुतली, कैँची, पानीको धारा लगायतका चिह्न पाएका छन्। योसँगै उनीहरु पनि आफ्नो उम्मेदवारीलाई जितमा परिणत गर्दै नगरवासीको घरदैलामो जान थालेका छन्।
जिल्लाका सक्रिय राजनीतिक दलहरु भने आफ्नो चुनाव चिह्नसहित मत माग्नमा व्यस्त छन्। धनगढीमा गठबन्धनका उम्मेदवार नृपबहादुर वड रुख चुनाव चिह्न, एमालेका उम्मेदवार सूर्य चुनाव चिह्नमा मत माग्दैछन्।
धनगढीमा गठबन्धनबाटै उपप्रमुखकी उम्मेदवार शान्ति अधिकारी हँसिया हतौडामा मत माग्दैछिन्। जिल्लाका अन्य स्थानीय तहमा नेकपा एकीकृत समाजवादी कलम, राष्ट्रिय जनमोर्चा गिलास, राष्ट्रिय प्राजातन्त्र पार्टी गाई लगायतका चुनाव चिह्नहरुमा मत माग्दैछन्। वैशाख ३० गते हुने मतदातका लागि २७ गतेबाट नै मौनअवधि सुरु हुनेछ। त्योबेलासम्म मात्रै उम्मेदवारले मत माग्न पाउने छन्।