सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनमा स्वार्थ, दुई मन्त्रालयबीच यस्तो हुदैछ चलखेल

२०७८ चैत्र २५, ०७:१२ रोशन भट्ट

धनगढीः कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेज राजनीतिक स्वार्थको सिकार बन्ने खतरा बढेको छ। भौतिक संरचना निर्माणको काम सकिनै लाग्दा पनि सञ्चालनको प्रारुप टुंगो लगाउनढिलाई भइरहेकोमा मेडिकल कलेज राजनीतिक स्वार्थको सिकार बन्ने खतरा बढेको हो। 

सातौं प्याकेजसम्मको काम सकिनै लाग्दा पनि सञ्चालनको प्रारुप तयार गर्ने सवालमा संघीय सरकार उदासीन छ। अहिलेकै समयमा आवश्यक नीतिगत निर्णय गरेर गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने मेडिकल कलेज पूर्वाधार निर्माण कार्यालयका कार्यकारी निर्देशक हेमजार पुजाराले बताए। ‘यति धेरै संरचना निर्माण भएका छन्। यसलाई खुम्चाएर हैन स्वरुप ठूलो बनाएर सञ्चालन गर्नुपर्छ। यसमा नै सबैले ध्यान दिन आवश्यक छ,’ उनले भने।

गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वसिवद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने माग सुदूरपश्चिमवासीको छ। तर संघीय शिक्षा मन्त्रालयले भने ०७५ मै मन्त्रिपदिषद्मा  पेश गरेको विधेयकमा प्रतिष्ठानका रुपमा सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेको छ। देशका अन्य मेडिकल कलेजसमेत संलग्न हुने गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्नुपर्ने प्रस्ताव शिक्षा मन्त्रालयले राखेको हो। तर त्यसपछि उक्त विधेयकमा कुनै छलफल नै भएको छैन। नयाँ प्रस्ताव राख्ने सवालमा पनि मन्त्रालय उदासीन छ।

तर पछिल्लो समय गेटालाई संघीय सरकारका दुई मन्त्रालयले सञ्चालन गर्ने चलखेल भइरहेको चर्चा सुरु भएको छ। मन्त्रालय स्रोतका अनुसार कलेजलाई शिक्षा र अस्पताललाई स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने चलखेल भइरहेको चर्चा सुरु भएको हो। यता संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले  भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए। ‘अस्पतालको मापदण्ड स्वास्थ्य र कलेजको शिक्षा मन्त्रालयले बनाउँनु स्वभाविका हो,’ उनले भने, ‘पूर्ण स्वामित्व कसले लिन्छ भन्ने विषयमा कुनै छलफल भएको छैन।’

मेडिकल कलेजलाई दुई मन्त्रालयले सञ्चालन गर्ने निर्णय भए सुदूरपश्चिमका लागि घातक हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। दुई मन्त्रालयले संयुक्त रुपमा सञ्चालन गरेका अन्य संस्थाको वर्तमान अवस्थालाई आकलन गर्दा गेटाका लागि उक्त निर्णय भए घातक हुने चिन्ता व्यक्त गरिएको हो। उक्त निर्णयपछि दुई मन्त्रालयबीच आवश्यक समन्वय नभएको खण्डमा मेडिकल कलेजको अस्तित्व नै  धरापमा पर्ने देखिएको छ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका पूर्व अध्यक्ष डा। चेतराज पन्तले पनि समन्वय हुन नसके समस्या हुने बताए। ‘यदी त्यही मोडालिटीमा सञ्चालन भए समन्वय महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘मैले सबै कुरा बुझ्न पाएको छैन, मोडालिटीबारे कुनै निर्णय पनि भएको छैन।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस