सुदूरपश्चिमका सडक : राजमार्ग की मृत्युमार्ग ?
८ महिनामा १२९ जनाको मृत्यु
धनगढीः गत आइतबार डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। जिल्लाको पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सोही गाउँपालिकाका २९ वर्षीय खेम बोहरा र ४५ वर्षका पुरन बोहराले ज्यान गुमाए।
गत फागुन दोस्रो साता बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा भएको टिपर दुर्घटनामा चार जनाले ज्यान गुमाए। पाटन नगरपालिका–३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माध्यमिक विद्यालयका विद्यार्थी १३ वर्षीय ज्ञानु बिष्ट, १७ वर्षीय ललित अवस्थी र पाटन नगरपालिका–३ कै १२ वर्षीय राजु पन्तको मृत्यु भएको थियो।
यस्तै सोमबार कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भयो। जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा मन्जु बुडालको मृत्यु भएको थियो। पछिल्लो समयमा सवारी दुर्घटना बढ्दो क्रममा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताए।
‘सवारी साधानको संख्या पनि बढ्दै गएको छ,’ उनले भने, ‘पहाडि क्षेत्रमा सडकको अवस्था पनि राम्रो छैन।’ प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालू आर्थिक वर्षको ८ महिना अर्थात गत फागुनसम्म मात्रै सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएका छन्।
जसमा सबैभन्दा बढी पुरुष ९७ जना रहेका छन्। महिला २१, बालक ७ र ४ जना बालिकाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। ८ महिनाकै अवधिमा दुर्घटनामा परी २ सय ९१ जना गम्भीर घाइतेसमेत भएका छन्। उनीहरु अधिकांशको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही उपचारपछि घर फर्किएका छन्।
चालू वर्षमै दुर्घटनामा परी ४ सय २४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी निरीक्षक सिंहले बताए। ‘यान्त्रीक गडबडीका कारणले गर्दा पनि दुर्घटना हुने गरेका छन्। चालकको कमजोरी पनि एक कारण हो। विशेष गरी सडकको दुराअवस्था छ।’
सुदूरपश्चिममा ८ महिनाको अवधिमा ५०५ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। सडक दुर्घटनामै परी २९ चौपाय मरेका छन् भने ७ घाइते छन्। चालू आर्थिक वर्षकै फागुनसम्म ट्राफिक नियम नमान्ने ६३ हजार ८ सय ४३ सवारी कारबाहीमा परेका छन्। जसबाट ३ करोड ५६ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा प्रत्येक वर्ष दुर्घटना हुने क्रम बढ्दै गएको छ। कतिपय दुर्घटना पैदल यात्रीको कमजोरीका कारण पनि हुने गरेका छन्। ग्रामिण भेगमा मापदण्डविपरीत निर्माण गरिएका सडकमा बढी दुर्घटना हुने गरेका छन् भने पहाडी राजमार्ग भत्किएर क्षतिग्रस्त छन्।