धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकियो, काम सकिएन
धनगढीः कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक निर्माणको काम २०७४ सालदेखि सुरु भएको थियो। १४ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि ३ वटा प्याकेजमार्फत ठेक्का सम्झौता गरेर काम सुरु भएको थियो। हाल कालोपत्रेको काम सकिएको भए पनि सडकमा फुटपात निर्माण, सर्भिस लेन, ट्राफिक संकेत, पेन्टिङ लगायतको काम अझै सकिएको छैन।
तीन वटै प्याकेजमा सडक निर्माणको काम ४ पटक थप गरिएको आयोजना कार्यालयका सव–इन्जिनियर भूवन खड्काले बताए। ‘पहिलो प्याकेजको अवधि चैत ७ गते सकिएको छ। दोस्रो र तेस्रो प्याकेजको समय चैत मसान्तमा सकिन्छ’ उनले भने।
६ लेन सडकको पहिलो प्याकेज निर्माण गर्ने जिम्मा नागाअर्जुन निर्माण कम्पनीले पाएको थियो। उक्त निर्माण कम्पनीको म्याद यही चैत ७ गते सकिएको छ। तर सो प्याकेजमा पनि सडक निर्माणको काम पूर्ण रुपमा सकिएको छैन।
दोस्रो र तेस्रो प्याकेजको निर्माण अवधि भने चैत मसान्तमा सकिने आयोजना कार्यालयले जनाएको छ। उक्त दुई खण्डमा पनि फुटपात लगायतको काम सकिएको छैन। तर आफ्नो समय अवधिभित्र काम सम्पन्न गर्ने दाबी राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टको छ। उनी भन्छन्, ‘हामी आफ्नो समयभित्र काम सम्पन्न गर्छौ। अहिले पनि काम निरन्तर चलिरहेको छ।’
धनगढी अत्तरिया ६ लेन सडकको निर्माण कार्यका लागि अहिलेसम्म ४ पटक म्याद थपिएको छ। तर यसपछि म्याद थप गर्न नपाउने प्रावधान बनाइएको छ। समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने आयोजना कार्यालयका सव–इन्जिनियर भूवन खड्काले बताए। ‘अब म्याद थप गर्न मिल्दैन। समयमा काम सम्पन्न नगर्नेलाई कारबाही हुन्छ’ उनले भने।