सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चलायमान बन्यो खेलकुद

२०७८ चैत्र ७, ०७:२६ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा कोरोना महामारीका कारण दुई वर्ष ठप्प जस्तै रहेको खेल क्षेत्र लयमा फर्किन थालेको छ। पछिल्लो समय ठूला प्रतियोगिताको आयोजनाले खेल क्षेत्र लयमा फर्किन थालेको हो।

राष्ट्रिय स्तरका प्रतियोगिता पनि धनगढीमा आयोजना हुन थालेपछि यस क्षेत्रको खेलकुद चलायमान हुन थालेको छ। धनगढीमा सोमबारदेखि ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ सुरु भइरहेको छ। उक्त प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहनेछ। 

विजेताले नगद चार लाख पाउने आयोजकले जनाएको छ। ठुला प्रतियोगिता धनगढीमा आयोजना हुन थालेपछि खेलाडीहरु पनि उत्साहित भएको सुदूरपश्चिमको भलिबल टिमका कप्तान महेश खत्रीले बताए। ‘राष्ट्रिय प्रतियोगिताहरु धनगढीमा आयोजना हुन थालेपछि हामीलाई सजिलो भएको छ,’ उनले भने, ‘हाम्रो खेल क्षेत्र र खेलाडिको दैनिक पनि सहज हुने अपेक्षा छ।’

धनगढीमा सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्ड कप पनि केही दिन अगाडि सम्पन्न भएको छ। क्रिकेट संघको आयोजना आइतबारदेखि राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता पनि धनगढीको फाप्लामा सुरु भएको छ। सरकार र निजी क्षेत्रबाट एकपछि अर्को विभिन्न प्रतियोगिताहरु सञ्चालन भइरहेका छन्। केही समय अगाडि निजी क्षेत्रबाट लिटल फ्लावर प्रिमियर लिग पनि आयोजना भएको थियो।

कोरोनाका कारण ठप्प रहेको सुदूरपश्चिमको खेलकुद लयमा फर्केको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए। ‘सुदूरपश्चिमका अधिकांश खेलाडी राष्ट्रिय टिममा सहभागि हुँदै आएका छन्। हामीसँग भौतिक संरचना र पूर्वाधारको अभाव छ। प्रदेशको खेलकुदलाई अझै उचाईमा पुगाउनका लागि यसमा ध्यान दिनु पर्ने देखिन्छ,’ उनले भने।

राष्ट्रिय स्तरका खेलकुदमा सुदूरपश्चिमको सहभागिता सधै रहने गरेको छ। प्रदेशमा भौतिक संरचना र खेल मैदानको अभावका बीच पनि खेलाडी उत्पादनमा सुदूरपश्चिम अगाडि देखिएको छ। अहिलेकै  जसरी प्रतियोगिता आयोजना हुने क्रमलाई निरन्तरता दिनसके केही समयपछि प्रत्येक खेलको राष्ट्रिय टिममा सुदूरपश्चिमका आधाभन्दा बढी खेलाडीले स्थान पाउने अनुमान गरिएको छ।

प्रदेशमा बजेट अभावका कारण खेल क्षेत्र अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैन। तर प्रदेश खेलकुद परिषद्ले भने अहिले निजी क्षेत्रसंग सहकार्य गर्दै राष्ट्रियस्तरका प्रयिोगिता आयोजना गर्ने नीति अवलम्बन गरेको परिषद्का सदस्य सचिव दीपक सिंहले बताए। ‘खेलकुदमा बजेटको अभाव छ। सबै प्रतियोगिता गर्नुपर्ने चुनौती हामी सामु छ। अहिले आयोजना भइरहेका प्रतियोगिताले पनि सुदूरपश्चिम पुनः खेलकुद फर्किएको संकेत देखाएको छ,’ सुदूरपश्चिम खेलकुद परिषद् सदस्य सचिव सिंहले भने। प्रदेश राजधानीमै नेपालमै पहिलोपटक महिला गोल्डकपको आयोजना गर्ने तयारी पनि छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस