सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सिकलसेल पहिचानमै चुनौती

२०७८ चैत्र ४, ०२:४४ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा सिकलसेल एनिमियाका बिरामीको पहिचानमै चुनौती देखिएको छ। कैलाली र कञ्चनपुरमा बसोवास गर्ने थारु समुदायमा सिकलसेल एनिमिया पहिचानमै चुनौती देखिएको हो। दुर्गम गाउँका नागरिकलाई यस विषयमा ज्ञान नहुँदा पहिचानमा समस्या भएको सिकलसेल नेपाल कैलालीका कार्यालय सहायक भीम कुस्मीले बताए।

‘अधिकांश नागरिकलाई यसको अवस्थाबारे अझै जानकारी छैन,’ उनले भने, ‘सुरुवातमा यसको पहिचानमै ध्यान दिन आवश्यक छ।’ औषधि उपचारमा पनि सरकार गम्भीर बन्नुपर्ने उनले बताए। अहिले सम्मको अध्ययनअनुसार सिकसेलको संक्रमण थारु समुदायमा बढी देखिएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित डडेल्धुरामा पनि यसको संक्रमण देखिएको छ। रोगको पहिचान नै हुन नकक्दा एकातिर औषधि उपचारमा समस्या भइरहेको छ भने अर्कोतर्फ संक्रमणको अवस्था पनि एकिन हुन सकेको छैन। रोग निदान र उपचारका लागि केही प्रयास हुँदै आएको दाबी सरोकारवाला निकायको छ।

सेती प्रादेशिक अस्पतालबाट मात्र हाल ७ सय ४४ जना बिरामीले उपचार सेवा लिदै आएको अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले बताए। ‘यसको पहिचान गर्न हामीले अनुसन्धान गर्दै आएका छौ,’ उनले भने, ‘कैलाली कञ्चनपुरका विभिन्न स्थानीय तहमा हामी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौ।’ कैलाली–कञ्चनपुरमा सिकलसेल देखिएको सात वर्ष बढी भएको छ। प्रविधि तथा उपकरण अभावका कारण पनि यसको सहज उपचार हुन सकेको छैन। यसको विरामीमा रगतको अभाव बढी हुने गरेका कारण उपचार सहज नभएको हो। साथै नियमित औषधी सेवनले पनि आर्थिक भार बढ्ने हुँदा सरकारले ध्यान दिनुपर्ने देखिएको छ।

अहिले सरकारले उपलब्ध गर्ने सेवा पनि प्रभावकारी रुपमा नपाएको गुनासो बिरामीहरुको छ। तर सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयका भेक्टरकन्ट्रोल निरीक्षक हेमराज जोशीले भने यो नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको बताए। ‘हामी सचेतना फैलाउने र यसको निदान गर्न गम्भीर छौ,’ उनले भने, ‘प्रदेश सरकारको बजेटमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।’ सिकलसेल एनिमिया थारु समुदायसँगै अन्य समुदायका नागरिकमा पनि देखिन थालेको एक अध्ययनले देखाएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस