महाकालीमा नदीजन्य पदार्थ उत्खनन् गर्दा डेढ करोड घोटाला !
धनगढीः कञ्चनपुरमा पर्ने महाकालीमा भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्को ठेक्का सम्झौता गर्ने जिम्मा पाएको छ। सोही अनुसार नगरपालिकाले चालु आर्थिक वर्षका लागि पनि ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रमा प्रतिघन मिटरको ७५ रुपैयाँ लिने भनिएको छ। तर उत्खनन्को जिम्मा पाएको भवानी कन्ट्रक्सनले नगरपालिकाले सम्झौता गर्दा १०५ रुपैयाँ लिने उल्लेख गरेपछि अख्तियारमा उजुरी परेको छ। सोही आधारमा छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रामबहादुर कुरूम्वाङले बताए। ‘उजुरी परेपछि हामीले छानविन सुरु गरेका छौं। ७५ मा बोलपत्र आह्वान गरेर १ सय ५ मा लिएको देखिएको छ। यसो हुँदा निर्माण कम्पनीलाई डेढ करोड लाभ भएको देखिन्छ,’ उनले भने।
अख्तियारको प्रारम्भिक अनुसन्धानले पनि निर्माण कम्पनीलाई फाइदा पुग्ने गरी सम्झौता भएको देखाएको छ। यस विषयमा थप छानविन गर्नका लागि अख्तियारले निर्माण कम्पनी र नगरपालिकाबीच भएको सम्झौताका कागजपत्रहरु पनि नियन्त्रणमा लिएको छ। कन्ट्रक्सनको १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिइएको जनाएको छ। जसमा डेढ करोड घोटाला गरेको खुलासा भएको छ। उजुरी परेपछि अनुसन्धानका लागि निर्माण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख रामबहादुर कुरूम्वाङले बताए।
यता भीमदत्त नगरपालिकाले भने ७५ रुपैयाँमा बोलपत्र आह्वान भएपछि दर रेट बढेका कारण शुल्क बढाएको भन्दै भ्रम फैलाएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा शुल्क निर्धारण गर्ने जिम्मा सम्बन्धित स्थानीय तहलाई नै रहेको भनेर उल्लेख गरिएको छ। तर भीमदत्त नगरपालिकाले भने प्रदेश सरकारले शुल्क बढाएका कारण निर्माण कम्पनीले एक सय पाँचका दरले रोयल्टी उठाएको बताएको छ। नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले भने, ‘हामीले दररेट निर्धारण गर्न मिल्दैन। प्रदेशले शुल्क बढाएपछि हामी के गर्न सक्छौं र ?’
तर नगरपालिका र निर्माण कम्पनीको मिलेमतोमा उक्त शुल्क निर्धारण गरिएको आरोप लागेको छ। डेढ करोड अनियमितता गर्नकै लागि उक्त चलखेल गरिएको आरोप लागेको हो।