सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गौरीगंगा नगरपालिका एमालेको भर्ति केन्द्र बन्यो’

स्थानीय तह समिक्षा

२०७८ फाल्गुन ३०, १०:४८ रोशन भट्ट

धनगढीः देश संघीय संरचनामा गएपछि २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचन भयो। जसमा नागरिकका अपेक्षाहरु पूरा गर्न विभिन्न एजेण्डासहित राजनीतिक दलहरु चुनावी मैदानमा उत्रिएका थिए। सोही एजेण्डाका आधारमा कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजयी प्राप्त गरेको थियो। तर उनीहरुले घोषणाअनुसार काम नगरेकोे टिप्पणी गरिएको छ।

घोषणा पत्रसहित निर्वाचनमा होमिएका प्रमुख र उपप्रमुखले जनअपेक्षा अनुसार काम गर्न नसकेको नगर कार्यपालिका सदस्य भक्तबहादुर विश्वकर्माले बताए। ‘जनताको पक्षामा केही काम भएको छैन। मेयर, उपमेयरले व्यक्तिगत फाइदा लिएका छन्’ उनले भने, ‘नगरपालिका एमालेका कार्यकर्ता भर्ति केन्द्र मात्रै भएको छ। दुई बढी कार्यकर्ताले रोजगारी पाएका छन।’ 

अधिकार सम्पन्न स्थानीय तहले जनताबाट निर्वाचित जनप्रतिनिधि पाएको पनि पाँच वर्ष हुन लाग्यो। तर यो अवधिमा निर्वाचित प्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढ्दो छ। गौरीगंगमा निर्वाचित जनप्रतिनिधिले चुनावको समयमा नगरपालिकामा रिङरोड निर्माण गर्ने, कृषिमा क्रान्ति गर्ने, खानेपानीको व्यवस्था गर्ने, सुशासन कायम गर्ने, नगरपालिकमा पर्ने पर्यटकीय क्षेत्रको विकास गर्ने, स्थानीय स्रोतलाई पहिचान गरी सुदृढ नगर बनाउने घोषणा गरेका थिए। तर यी नाराहरु कागजमा सिमित भएको गौरीगंगा नगरको प्रमुखमा पराजित भएका नेपाली काँग्रेसका नेता दिनेशराज जोशीले बताए। ‘एमालेको घोषणापत्र अनुसार केही पनि भएको देखिन्न। यो अहिलेको नेतृत्वको असफलता हो’ उनले भने। 

शिक्षा, स्वास्थ्यमा पनि नगरपालिकाका प्रमुख÷उपप्रमुखले जनअपेक्षाअनुसार काम गर्न नसकेको देखिएको छ। नगरपालिकामा पर्ने विभिन्न नदीहरुको दोहन गरी उल्टै लाखौं रकम अनियमितता गरेको आरोप लागेको छ। अहिलेको नेतृत्वकै कारण नगरको विकास अझै पछाडि धकेलिएको धारणा धेरैको छ। अन्य जनप्रतिनिधिको असहमति हुँदा पनि कर्मचार भर्ना गर्दा बद्मासी भएको छ। प्रक्रियाविपरीत नगरपालिकामा एमालेका कार्यकर्तालाई रोजगारी दिएको देखिएको छ। विकास बजेटलाई पनि पारदर्शी रुपमा उपयोग गर्न सकिएको छैन। जसकाकारण आम नागरिकलाई स्थानीय सरकारको अनुभूति नै नभएको भनाई धेरैको छ। 

यता गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले भने आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न हुने दाबी गरेका छन्। उनी भन्छन्, ‘कानून र अन्य जटिलताका कारण केही काम गर्न  नसकिएको होला। हामीले अपेक्षा अनुसार नै काम गरेका छौं।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस