धनगढी विमानस्थल स्तरोन्नति : अझै सार्वजनिक भएन सर्भे प्रतिवेदन
धनगढीः नेपाल सरकारले धनगढी विमानस्थल विस्तारका लागि एक अर्ब बजेट विनियोजन गरेपछि जग्गा अधिग्रहणको विषय झनै चर्चामा आयो। सोहीअनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले पनि विमानस्थलमा पर्ने जग्गा अधिग्रहण गर्न सर्भेको काम सुरु गरेको थियो। काठमाडौंको परामर्श दाता कम्पनीलाई उक्त जिम्मा दिँदै सर्भेको काम यही फागुनको पहिलो सातामा सकेको थियो।
उक्त सर्भेले अधिग्रहण गर्नुपर्ने जग्गाको यकिन गर्ने हुँदा सार्वजनिक गर्न आवश्यक छ। तर सर्भे सकिएको तीन साता हुँदा पनि प्रतिवेदन सार्वजनिक भएको छैन। संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले भने उक्त रिपोर्ट १०/१२ दिनमा सार्वजनिक गर्ने बताए। ‘काम भइरहेको छ,’ उनले भने, ‘रिपोर्ट सार्वजनिक गर्न १०/१२ दिन लाग्छ होला।’ विमानस्थलका लागि २ सय ५८ विघा जग्गा अधिग्रहण गर्नुपर्ने भनिएको छ। त्यसको लागि प्रारम्भिक सर्भे गरिएको हो।
सर्भे रिपोर्ट आए अधिग्रहण हुने क्षेत्रको टुंगो लाग्ने हुँदा प्रभावित क्षेत्रका बासिन्दामा रहेको अन्योलता पनि हट्ने थियो। योसँगै उक्त सर्भे रिपोर्टले डिपिआरलाई अन्तिम रुप दिन सहयोग गर्ने हुँदा पनि समयमै सार्वजनिक गर्न आवश्यक छ। त्यसका लागि अहिले डिजिटल नक्सा मिलाउने काम भइरहेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘दुई मन्त्रालयबीचको काम भएर केही समय लागेको हो,’ उनले भने, ‘सर्भे रिपोर्टपछि डिपिआरले पनि पूर्णता पाउँछ।’
अहिले विमानस्थल विस्तारका लागि एक अर्ब मात्रै बजेट विनियोजन गरिएको छ। तर २ सय ५८ विघा जग्गा अधिग्रहणका लागि १४ देखि १५ अर्बसम्म बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। अन्य संरचना निर्माणका लागि पनि बजेट थप्नु पर्ने हुन्छ। अहिले प्राधिकरण पनि त्यसतर्फ केन्द्रित भएको दाबी गरिएको छ।
तत्कालै आवश्यक बजेटको व्यवस्था गरेर अधिग्रहणको काम सम्पन्न गर्दै विमानस्थल विस्तारमा ढिलाई नगर्ने दाबी संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेको छ। ‘एक अर्ब बजेट विनियोजन भइसकेको छ। जग्गा अधिग्रहणका लागि १४ देखि १५ अर्बसम्म लाग्ने अनुमान छ। थप बजेट व्यवस्थापन गरेर विमानस्थल विस्तारको काम सुरु हुन्छ,’ मन्त्री आलेले भने।