सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लेन सडकको फुटपाथ निर्माणमा लापरबाही

२०७८ फाल्गुन २५, ०७:२३ रोशन भट्ट

धनगढीः निर्माणाधिन अवस्थामै रहेको धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा कमसल निर्माण सामाग्री प्रयोग भएको छ। २०७४ सालदेखि निर्माण सुरु भएको ६ लेन सडकमा कमसल सामाग्री प्रयोग भइरहेको हो। १४ किलोमिटर लम्बाइको सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ। अहिले सडकको फुटपातमा ब्लक लगाउने काम भइरहेको छ। 

फुटपाथ निर्माणका क्रममा लापरबाही र कमसल ब्लक प्रयोग भएको धनगढीका टेक साउदले बताए। ‘मापदण्डविपरित ६ लेन सडकमा ब्लक लगाउने काम भइरहेको छ,’ उनले भने, ‘फुटपात बलियो बनाउनका लागि ब्लक पनि गुणस्तरिय प्रयोग हुनुपर्छ।’

६ लेन सडकको फुटपातमा भाइब्रेटरबाट निर्माण भएको ब्लक लगाउनु पर्ने हुन्छ। तर धनगढी-अत्तरिया ६ लेन सडकमा भने प्रेसर मेसिनबाट निर्माण भएको ब्लक लगाइएको छ। प्रेसर मेसिनबाट बनेको ब्लक बलियो पनि नहुने हुँदा भाइब्रेटरबाट बनेको ब्लक लगाउन पर्ने हुन्छ। तर निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गर्दा पनि आयोजना कार्यालय मौन बसेको छ। 

६ लेन सडकमा निर्माण कम्पनीले चैत महिनाभित्र उक्त ब्लक लगाइसक्नु पर्ने अवधि तोकिएको छ। ब्लकको काम ढिलो गरि सुरु भएको थियो। भाइब्रेटरबाट ब्लक निर्माण गर्न समय लाग्ने हुँदा प्रेसर मेसिनको प्रयोग भएको बताइएको छ। काम छिटो सम्पन्न गर्नका लागि कमसल सामाग्री प्रयोग भएको आरोप लगोको छ।

तर आयोजना कार्यालयका सव–इन्जिनियर भूवन खड्काले भने प्रेसर मेसिनबाट निर्माण भएको ब्लक प्रयोग भए पनि मापदण्ड पूरा भएको दाबी गरे। ‘जे भए पनि हाम्रो स्ट्रेन्थ पुगेको छ। एम–२० स्ट्रेन्थ हुनु पर्ने हो। तर हामीले प्रयोग गर्ने ब्लकको स्ट्रेन्थ एम–३० भन्दा बढी छ,’ उनले भने।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस