धनगढी सिटी हलको निर्माण लगभग सकियो, कहिले हुन्छ हस्तान्तरण ?
धनगढीः कैलालीको धनगढीमा निर्माणाधीन सिटी हलको काम अन्तिम चरणमा पुगेको छ। २०७६ माघदेखि निर्माण सुरु भएको सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
संघीय सरकारले २५ करोड २६ लाखमा निर्माण गरिरहेको सिटी हलको काम सकिन लागेको बताइएको छ। गत असारसम्म निर्माण अवधि तोकिएको भएपनि कोरोना महामारीका कारण काम गर्न नसकिएको बताइएको छ। त्यसपछि चैत मसान्तसम्म निर्माण अवधि तोकिएको छ। उक्त समयसम्म काम सम्पन्न गर्ने दाबी निर्माण कम्पनी बिकेवाई एमके रोयल जेबीका सञ्चालक प्रकाश सेठीको छ। ‘केही सामान विदेशबाट ल्याउनुपर्ने हुँदा समय लागेको हो। निर्धारित समयभित्र काम सकिन्छ’ उनले भने।
उक्त हल सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत निर्माण भइरहेको छ। जसमा अहिले फिनिसिङको काम भइरहेको छ। जहाँ भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिएको छ। आयोजना कार्यालयले पनि पछिल्लो समय तिब्र गतिमा काम भइरहेको कारण तोकिएको समयमा हस्तान्तरण गर्ने तयारी भइरहेको जनाएको छ। आयोजना कार्यालयका सूचना अधिकारी द्रोण कटुवाल भन्छन्, ‘भौतिक संरचना निर्माणको काम सकिन लागेको छ। चैतसम्म सबै काम सकेर स्थानीय तहलाई हस्तान्तरण हुन्छ।’ आयोजना कार्यालयले निर्माण सम्पन्न गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाएको छ। तर उप–महानगरपालिकाले सञ्चालनको स्पष्ट मापदण्ड बनाएको छैन।
उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको सिटी हल बहुउपयोगी हुने विश्वास गरिएको छ। एक बिघा क्षेत्रफलमा निर्माणाधीन सिटी हलमा एक साथ करिब एक हजार जना अटाउने क्षमता रहने छ। आपांगमैत्री बन्न लागेको सिटी हलमा अन्डरग्राउण्ड पार्किङको सुविधा पनि हुनेछ। सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको समेत व्यवस्था हुनेछ।