सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिग्री छाडेर तरकारी खेतीमा रमाएका धनगढीका ओझा, मासिक लाखौं आम्दानी

२०७८ माघ २३, ११:४९ खबर संवाददाता

पदमराज जोशी, धनगढी: धनगढीका टेकराज ओझा अहिले कृषि कार्यबाट नै स्वरोजगार बनेका छन्। अहिले ५ बिघा जग्गामा तरकारी खेती गरिरहेका उनको साथमा लामो समय बिदेश बसेका काका पनि छन्। काका भतिजाले केवल आफू मात्रै आम्दानी गरिरहेका छैनन्, गाउँका अन्यलाई रोजगारी पनि दिएका छन्। ‘गाउँघरमा नै स्वास्थ र अर्गानिक तरकारी खेती गरेर खुवाउन सकिन्छ र नगद आम्दानी गर्न सकिन्छ कि भन्ने उदेश्यले हामीले तरकारी खेती गरिरहेका छौँ’,  टेकराज भन्छन्, ‘बिदेशमा बसेर कति अर्काको मात्रै काम गर्ने। बिदेशमा कमाउन सकिने जति त यतै घरमा नै मेहनत गरेर कमाउन सकिने ठानेपछि कृषि कर्ममा लागेका हौं।’

उनका बुवाले तरकारी खेती गर्न थालेको ३५ वर्ष भन्दा बढी भइसकेको छ। उनी जन्मिनुभन्दा पहिला देखिनै तरकारी खेती गरेका उनका बुबा अहिले उनले कृषि कर्मनै गरेको देखेर खुसी रहेको ओझा बताउँछन्। ‘बुवाले हामीहरुलाई कृषि कर्म गरेरै पढाउनु, हुर्काउनु भयो। १० कट्ठामा तरकारी खेती गरिरहनु भएका बुवाकै सल्लाहमा लिजमा ५ बिघा जग्गा लिएर हामी काकाभतिज तरकारी खेती गरिरहेका छौँ’, उनी भन्छन्, ‘बुवाले आर्थिक रुपमा पनि आयआर्जन राम्रै गरेको र परिवारसँगै बसेर काम गरिरहेको देखेर आफुलाई पनि तरकारी खेती गर्न उत्साह मिल्यो। बिरामी पर्दा, अप्ठ्यारो पर्दा परिवारसँग रहन पाउनु आफैमा विशेष लागेर यो काममा छु।’ 

ओझाले व्यवस्थापनमा स्नातक गरेका छन्। डिग्री भर्ना भएका उनलाई पढाईप्रति रुचि कम हुनथाल्यो र कृषिमा रुचि बढ्न थाल्यो। उनले डिग्रीको पढाई छाडीदिए। अहिले उनले एउटा सिजनमा लगभग १२ लाखभन्दा बढी कमाइ रहेकाछन्। ‘सरकारी जागिर खाएको भए मासिक ३०/३५ हजारसम्म कमाउन सकिन्थ्यो होला। अहिले मासिक एक लाखभन्दा बढी कमाइ रहेको छु’,  टेकराज भन्छन्, ‘दुनियाको गुलामी गर्नुभन्दा आफ्नै परिवारसँग मिलेर मेहनत गर्नु मलाई आनन्द लाग्छ।’ 

समयमा मल नपाउने, भारतीय तरकारीले बजारमा टिक्न गाह्रो हुने आदि चुनौती तरकारी किसानको समस्या रहेको उनी बताउँछन्। ‘अहिले थोरै मात्रामा तरकारी उत्पादन भइरहेकोले आफैले बजार खोज्नुपर्ने स्थिति हाम्रो छ’, उनले भने, ‘बजारमा आफैले तरकारी पुर्याउनुपर्ने स्थिति चिर्नको लागि बढी उत्पादनको आवश्यकता पर्छ। अनि बिक्रीताले आफै खोजी गर्छन्। बिक्रेतालाई आफूमाझ ल्याउन अझै लिजमा जग्गा लिएर बढी उत्पादन गर्ने उनको योजना छ।  

कृषि कर्म गर्न युवालाई सुझाव
बिदेशमा ग्एर पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा कृषि गर्न ओझा सम्पूर्ण युवालाई आग्रह गर्छन्। ‘यहाँबाट बाहिर जाउ। लाखौं रुपैयाँ खर्च गर। मेनपावरलाई खुवाउ। फेरि बिदेशमा पनि आकाशबाट पैसा फल्ने होइन। त्यहाँ पनि काम नै गर्नु पर्ने हो। मरिने हो कि बाचिने हो पत्तो छैन। त्यसैले आफ्नै गाउँघरमा काम गर्नुस्।’ उनले भने, ‘मेरै काका मेखराज ओझा हुनुहुन्छ। उनले १६ बर्ष बिदेशमा बसेर काम गर्नु भयो।  १ लाख २० हजार महिनाको कमाई गरिरहेका उहाँले अहिले मसँग आएर काम गर्दै हुनुहुन्छ।’

कमेन्ट लोड गर्नुस