सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल छेउका स्थानीयको दुखेसो, ‘जग्गा माफियाले सुत्न दिएका छैनन्’

२०७८ पुष ८, ०५:४९ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थल वरपरका स्थानीय विगत दुई वर्षदेखि जग्गा अधिग्रहणको चर्चाले समस्यामा छन्। सरकारले कहाँसम्मको जग्गा अधिग्रहण गर्छ भन्ने विषयको टुङ्गो नलागेकै कारण स्थानीय त्रासमा दैनिकी बिताउन बाध्य भएका हुन। पछिल्लो पटक त उक्त क्षेत्रमा रेखांकनसहित पिल्लर गाढिएपछि स्थानीयलाई थप चिन्तित बनेका छन्। 

सरकारले नै अधिग्रहण हुने क्षेत्रफल छुट्याउन नसक्दा जग्गा कारोबारी पनि सल्बलाएको बुझाई धनगढी लक्ष्मीनगरका स्थानीय कान्तराज भट्टको छ। ‘हामी पनि सरकारलाई सहयोग गर्छौ। हामीलाई पनि केही काम गर्न सजिलो हुन्थ्यो। जग्गा माफियाहरुले खान सुत्न दिएका छैनन्। आवश्यक पर्ने जग्गाको एकिन गर्नुपर्‍यो’ उनले भने। 

धनगढी विमानस्थललाई विस्तार गर्नुपर्ने सवालमा आफूहरुको पनि समर्थन रहेको स्थानीयको भनाइ छ। तर पछिल्लो दुई वर्षदेखि अधिग्रहणको विषयलाई चर्चामा ल्याएर अनिर्णयको बन्दी बनाएको आरोप लागेको छ। जसकाकारण उक्त क्षेत्रका स्थानीयले विभिन्न समस्या भोग्दै आएका छन्। यसबाट जग्गा कारोबारीले मात्रै फाइदा उठाउनसक्ने देखिएको छ। 

केही अगाडि गरिएको रेखांकनलाई उदाहरणका रुपमा समेत लिन सकिन्छ। विमानस्थललाई जग्गा दिन तयार भएपनि सरकारले आफ्नो आवाज नसुनेको विमानस्थल छेउका स्थानीय लालबहादुर महराले बताए। ‘सरकारसँग हाम्रो आग्रह के हो भने, आवश्यक पर्ने जग्गा छुट्याइ दिनुपर्‍यो,’ उनले भने, ‘यो भए भने जनता ढुक्क हुन्छन्।’

दुई वर्ष अगाडि सार्वजनिक भएको गुरुयोजनामा जग्गा अधिग्रहणलाई प्राथमिकतामा राखिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अन्तरगत नै जग्गाको विषय प्राथमिकतामा परेको थियो। सरकारीस्तरबाट बेलाबला जग्गा अधिग्रहणलाई चर्चामा ल्याउँदा नै अहिले कारोबारी सक्रिय भएको अनुभूति स्थानीयको छ। 

तर जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुन अझै समय लाग्ने देखिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘अबको बोर्डमा गुरु योजना पेश हुन्छ होला। त्यसपछि मन्त्रालय जान्छ’ उनले भने, ‘अनि मन्त्रिपरिषद्बाट पास भएपछि जग्गा अधिग्रणको प्रक्रिया हुन्छ। यसमा केही समय लाग्ने देखिएको छ।’ 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस