कोरानाले कञ्चनपुरका जयरामलाई विदेशबाट घर फर्कायो, घरमै गतिलो आम्दानी
धनगढीः शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे। पाँच वर्ष विदेश बसे पनि उनले मनग्य पैसा आर्जन गर्न सकेनन्। विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो। तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लागे। ऋण नपाएपछि चौधरी कतार उडे।
कतार पुगेपछि कोराना महामारी फैलियो। “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उनले भने, “घर फर्किए पनि कोरोनाकै त्रास थियो। त्रासमै बस्नुपर्ने अवस्था आयो।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गरे। दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले। “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो। विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उनले भने, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो।”
फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताए। दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आएका छन्। हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गरेका छन्। “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो। यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उनले भने। विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन्।