सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेका गगन भन्छन्, ‘परिवारका १८ जनालाई पहिरोले लग्यो, म किन बाँचे हुँला’

२०७८ कार्तिक १३, ०४:५९ रोशन भट्ट

धनगढीः बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका गगन सार्की धेरै वर्षदेखि भारतमा रोजगारी गर्दै आएका छन्। भारतको आँध्र प्रदेशमा मजदुरी गर्दै आएका सार्की पछिल्लो पटक गत वर्षको पुसमा मुग्लान पसेका हुन्। भारतमै मजदुरी गरेर परिवारको दैनिकी चलाउँदै आएका सार्कीको सर्वस्व गुमेको छ। गत असोज ३१ गते रातिदेखि ३ दिनसम्म परेको अविरल वर्षाका कारण खसेको पहिरोले उनको सर्वस्व लुटिएको हो। 

गत कार्तिक २ गते खसेको पहिरोमा परी बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका २३ जना बेपत्ता भएका थिए। जसमध्ये १८ जना गगनकै परिवारका सदस्य थिए। घरका १८ जना सदस्यको मुहारामा खुसी ल्याउन प्रत्येक वर्ष मुग्लान पस्ने गगनका पाइलामा ठेस लागेको छ। छिट्टै परिवारका सदस्यसँग भेट गर्ने बाचासहित रोजगारीका लागि मुग्लान पसेका सार्की अहिले स्वदेश पर्किएका छन्। शनिबार धनगढी बसपार्कमा पुगेका सार्कीसँग हाम्रो पनि भेट भयो। 

बसपार्कको एक होटलमा आफ्ना गाउलेसँग बसेका गगनलाई भेट्दा लाग्थ्यो, उनका आँखामा हिमनदी बगिरहेको छ। गहभरी आँसु झार्दै सार्की भन्दै थिए, ‘कहाँनिर घर थियो भन्ने सपनामा पनि थाहा छैन। घरको जेठो छोरो भागेर बाच्यो। बाँकी मेरै घरका १८ जनालाई पहिरोले लग्यो। न घर रह्यो न परिवार। जमिन पनि पहिरोले लग्यो।’ ‘म किन बाँचे हुँला। मैले पनि मर्नु थियो हजुर। बेहोस भएर भारतमै मर्न लागेको मलाई गाउँले साथीभाइहरुले बचाएर यहाँसम्म ल्याए’ भक्कानिँदै उनले थपे। 

बझाङको पहिरोमा सार्कीको परिवारका १८ जनासहित अन्य ५ जना पनि बेपत्ता भएका थिए। उक्त पहिरोपछि पुरै गाउँमा जोखिममा रहेको छ। त्यसैले पीडित परिवारलाई राहत मात्रै नभएर क्षतिपूर्ति दिनुपर्ने थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका जयबहादुर पार्कीले बताए। ‘हाम्रो गाउँ नै अर्को ठाउँमा सार्नुपर्ने देखिएको छ। यसका लागि तीनै तहका सरकारसँग हाम्रो आग्रह छ’ उनले भने। 

उक्त पहिरोमा परी २३ जना बेपत्ता भएका थिए। जसमा ४ जनाको शव फेला परेको छ। भने अन्य १९ जना अझै बेपत्ता छन्। उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्यगर्दा पनि नभेटिएपछि अहिले त खोजी कार्य नै स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार प्रक्रिया पुगाएर उनीहरुलाई मृत घोषणा गर्ने तयारी भइरहेको छ। 

गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण समग्र सुदूरपश्चिममा जनधनको क्षति भएको थियो। तराईमा बढीले बगाएर मानविय क्षति निम्त्याएको थियो भने पहाडमा पहिरोमा पुरिएर धेरैले ज्यान गुमाएका थिए। वर्षाका कारण सुदूरपश्चिमका ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। १९ जना अझै बेपत्ताको सूचिमा छन् भने, १७ जना घाइते भएका थिए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस