सुदूर पहाडका राजमार्गमा जहिले पहिरो, २० घण्टासम्म सूचारु नहुँदा यात्रुलाई पीडा
धनगढीः आइतबारदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको थियो। राजमार्गको भासु भीरमा वर्षाका कारण पछिल्लो पटक सोमबार राति पनि राजमार्ग अवरुद्ध भएको हो। साँझ ७ बजेपछि सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भए पनि सुचारु गर्न भने झण्डै २० घण्टा लाग्यो। एक घण्टामै बाटो खुलाउन सकिने भएपनि सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका यात्रुहरुले त्रसदयी वातावरणमा २० घण्टा बिताउनु परेको राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका धनगढीका पत्रकार दीलबहादुर छत्यालले बताए। ‘यसरी वर्षा हुँदै छ। पहिरो जाँदैछ भनेपछि त्यसलाई खुला गर्ने प्रवन्ध मिलाउन सकिन्थ्यो’, उनले भने, ‘तर त्यतातिर चरम लापरबाही भएको पाइयो।’
सामान्य वर्षामा पनि पटकपटक अवरुद्ध हुने भीमदत्त राजमार्गमा सोमबार राति पनि भासु भीरसँगै अन्य आधा दर्जन बढी स्थानमा पहिरो गएको थियो। राजमार्ग अन्र्तगत सहजपुर, फल्टुडे लगायतका स्थानमा पहिरो खसेको हो। पहिरो खस्दा सडक अवरुद्ध भएपछि सुचारु गर्ने दायित्व सडक डिभिजनसँगै स्थानीय तहको पनि हो। तर उक्त क्षेत्रमा पर्ने चुरे गाउँपालिका पनि सडक सुचारु गर्न उदासिन देखिएको छ। गाउँपालिकासँग आफ्नै डोजर भएपनि पहिरो पन्छाउनमा प्रयोग नभएको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले बताए। ‘वर्षाका कारण धेरै स्थानमा पहिरो खसेको छ’, उनले भने ‘तर हाम्रो डोजरमा आएको खराबीका कारण कम गर्न सकेको छैन।’
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसँगै केआइसिंह राजमार्ग, पहलमानसिंह स्वार राजमार्ग, दशरथ चन्द राजमार्ग, जयपृथ्वी राजमार्ग पनि पटकपटक अवरुद्ध हुँदै आएका छन्। राजमार्ग क्षेत्रमा सडक सुचारु गर्नका लागि डोजर लगायत जनशक्ति तयारी अवस्थामा राख्नु पर्ने भएपनि त्यसो हुन सकेको छैन। जसकाकारण एक घण्टामा खोल्न सकिने बाटो २० घण्टासम्म अवरुद्ध हुने गरेको छ।
रातिको समयमा जोखिम हुने गरेका कारण डोजर चलाउन नसकेको दाबी सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीको छ। ‘लगातार पानी परिरहेको छ। हाम्रो एउटा डोजर सधै सडकमै हुन्छ। सोमबार थप एक डोजर पठाएका छौ’, उनले भने, ‘रातिको समयमा लाइट नहुने गरेका कारण काम गर्न सकिँदैन। जोखिम पनि हुन्छ।’
सरोकारवाला निकायले सडक सुचारु गर्न गर्ने ढिलाइका कारण बाटोमा अलपत्र परेका यात्रुहरु त्रासमा पर्ने गरेका छन्। विषेशगरी बालबालिका, बिरामी लगायतकालाई समस्या हुने गरेको छ।