धनगढीमा नयाँ उद्योग खोल्न विद्युत प्राधिकरण बाधक, लाखौं घुस मागेको आरोप
धनगढीः विभिन्न व्यापार, व्यवसाय तथा उद्योग सञ्चालन गरेर २५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल धनगढीका धर्मराज जोशीको समूह नयाँ उद्योग सञ्चालन गर्ने अन्तिम तयारीमा छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मा सञ्चालन हुने उनको उल्का गार्मेन्ट नामक उद्योगले स्वदेशी तयारी पोशाक उत्पादन गर्ने योजना बनाएको छ। सुदूरपश्चिममा पहिलो पटक ‘वासप्लाट’बाट जिन्स पाइन्ट उत्पादन गर्ने उक्त उद्योग सञ्चालनमा भने ढिलाइ भइरहेको छ।
वासप्लान्ट सञ्चालन गर्न विद्युतको थ्री फेज लाइन आवश्यक परिरहेको छ। तर नेपाल विद्युत प्राधिकरण विगत ६ महिनादेखि उक्त उद्योगमा आवश्यक विद्युत आपूर्ति गर्न उदासिनता देखाएको उद्योग सञ्चालक धर्मराज जोशीले बताए। ‘आजसम्म हामीले थ्री फेज लाइन पाएका छैनौं। हाम्रो राजनीतिक पहुँच नभएको हो की ?,’ जोशीले प्रश्न गर्दै भने, ‘कानूनी प्रक्रिया पुरा गर्दा पनि काम भएको छैन। उल्टै कम्पनी खोल्नुहुन्छु दुई/चार लाख दिन सक्नुहुन्न भन्छन्।’
धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का स्थानीय घनश्याम भट्टले पनि उद्योग सञ्चालन गरेका छन्। आफ्नै वडामा कंक्रिट उद्योग सञ्चालन गरेका भट्टले पनि ६ महिनासम्म नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको हैरानी खेप्नु परेको थियो। उद्योगका मशिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने विद्युत आपूर्ति गर्न प्राधिकरणले ६ महिना भन्दा बढी समय लगाएको गुनासो उनको छ।
भोल्टेज बढाउन गरेको ढिलाइका कारण उद्योग नै ६ महिना बन्द भएको थियो। जसका कारण उद्योगमा आश्रित ४० जनाले ६ महिनासम्म रोजगारी नै गुमाउनु परेको उद्योग सञ्चालक घनश्याम भट्टले बताए। ‘उद्योग सञ्चालन गर्नका लागि सरकारबाट सहयोग हुन सकेको छैन,’ उनले भने, ‘राज्यले युवाहरुलाई प्रोत्साहन दिनुपर्ने हो तर निरुत्साहित हुनुपर्ने अवस्था छ।’
नेपाल विद्युत प्राधिकरणले उद्योग सञ्चालकले माग गरेको १९ दिनभित्र आवश्यक मिटर उपलब्ध गराउनुपर्ने प्रावधान छ। ५० केभिए भन्दा मुनिको ट्रन्सफर्मर सरकारले निःशुल्क जडान गर्नुपर्ने हुन्छ। धनगढीमा सञ्चालन हुने उल्का ग्रार्मेटलाई पनि ५० केभिए भन्दा कम क्षमताको ट्रन्सफर्मर आवश्यक छ। त्यसकारण पनि उद्योगलाई आवश्यक लोड दिन जरुरी छ।
धनगढी वितरण केन्द्रको साविकको नेतृत्वले सेवा उपलब्ध गराएबापत घुस मागेको आरोप लागेका बेला अहिलेका कार्यालय प्रमुख सुर्यनारायण मण्डलले भने ट्रन्सफर्मर अभावका कारण ढिलाइ भएको दाबी गरे। ‘ट्रन्सफर्मरको सहज उपलब्धताको लागि मैले प्रादेशिक प्रमुखसँग पनि कुरा गरेको छु,’ केन्द्रका प्रमुख मण्डलले भने, ‘केही ट्रन्सफर्मर मर्मतका लागि पठाएका छौं। आएकै दुई दिनभित्र उहाँहरुले लोड पाउनुहुन्छ।’
सरकार आफैले उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा निजी क्षेत्रलाई असहयोग गर्दै आएको छ। यसरी उद्योग सञ्चालन गर्नेहरुमा बैदेशिक रोजगारबाट फर्किएकाहरु सँगै युवा पुस्ता बढी संलग्न छ। तर निजी क्षेत्रले लगानी गर्न खोज्दा सरकार नै बाधक हुन थालेपछि लगानीकर्तामा निराशा छाएको छ।