स्वदेशमै रोजगारी सिर्जना गर्दै विदेशमा वर्षाै पसिना बगाएका सुदूरपश्चिमका युवा
धनगढीः धनगढीका अमृत शाहीले आफ्नो जिवनको उर्जाशिल ७ वर्ष विदेशमा बिताए। उनी अहिले स्वदेशमा आफैँले सुरुवात गरेको व्यवसायमा जमेका छन्। विदेशमा कमाएको पुजीँलाई आफ्नै देशमा लगानी गर्नुपर्छ भन्ने मान्यताका साथ उनले कृषि पेशालाई अंगालेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ मा उनको कुखुरा फर्म छ। योसँगै उनले माछापालन समेत सुरु गरेका छन्।
आफुले सुरु गरेको व्यसायबाट १५ जनाले रोजगारी पाएको शाहीले बताए। ‘पहिला आफूसँग पुजीँ नभएर विदेश गए,’ उनले भने, ‘विदेशमा कमाएर अहिले नेपालमै लगानी गरेको छु। अन्यलाई रोजगारी दिन पनि सफल भएको छु।’ कोरियामा १० वर्ष बिताएका धर्मराज जोशीले धनगढीमा व्यवसाय सुरु गरेका छन्। उनले गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छन्। विगतमा विदेशबाट फर्केर नयाँ काम गरेकाहरुको सुझावअनुसार उनले उद्योग सञ्चालन गरेका हुन्।
विगतमा अन्य व्यवसायसमेत सुरु गरिसकेका उनले अहिले आएर उद्योग सञ्चालन गरिरहेका हुन्। उक्त उद्योगबाट ५० जना भन्दा बढीले रोजगारी समेत पाएका छन्। विदेशको ज्ञान, सिप र पुजीँलाई एकीकृत गर्दै आफ्नै देशमा काम गर्न चाहने युवाको संख्या बढ्दै गएको छ। सोही कारण पनि वैदेशिक रोजगारबाट फर्किएकाहरु संगठित भइ रोजगारी सिर्जना गर्नतर्फ लागेको जोशी बताउँछन्।
‘जीन्स पाइन्ट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यसमा ५० जनाभन्दा बढी हामीलाई कामदार चाहिन्छ। अहिले पनि ३०÷४० जनाले रोजगारी पाएका छन्।’ लामो समयसम्म विश्वका विभिन्न देशमा काम गरेर अहिले स्वदेशमै रोजगारीका अवसर खोजीरहेका सुदूरपश्चिमका युवाहरु संगठित हुने क्रम जारी छ।
अहिलेसम्म रिटर्नी माइग्रेट नामक संस्थामा मात्रै ६ हजारभन्दा बढी विदेशबाट फर्किएकाहरु जोडिएका छन्। सिप, अनुभव र क्षमतालाई सामूहीक अवधारणामार्फत रोजगारी र व्यवसायीक क्षेत्रमा लगानी गर्न सरकारले सहयोग नगरेको रिटर्नी माइग्रेट सुदूरपश्चिमकाका अध्यक्ष चेतन थापाले बताए। ‘सरकारसँग हाम्रो धेरै अपेक्षा छैन।
हामीले उत्पादन गरेको सामानलाई बजारसम्म पुगाउनका लागि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘सहुलियत व्याजदरमा ऋण मात्रै उपलब्ध गराएपछि हाम्रो लगानी गर्ने दायार फराकिलो हुन्छ।’ आफैले रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा उदासिन देखिएको सरकार काम गर्नेहरुलाई सहयोग गर्न समेत वेवास्ता गरिरहेको छ।