कैलालीमा प्रहरीको दसैं : छैन बिदा, कार्यालय प्रमुखबाट टीका
धनगढी : सबैलाई नेपालीहरुको महान चाड दसैँ मनाउन भ्याइनभ्याइ थियो। दसैँ मनाउन सहरलाई शुन्य बनाउँदै धेरै नेपालीहरु गाउँ फर्किएका छन्। रोजगारी र काम विशेषले जन्मथलो छाडेकाहरु दशैका लागी गाउँ फर्किएपछि अहिले गाउँमा चलहपहल पनि निकै छ। तर धेरै सुरक्षाकर्मी, प्रशासनका कर्मचारी, रेडियो, अनलाइन र टेलीभिजनका पत्रकार तथा काम विशेषले घर जान नपाएकाहरुले भने कर्मथलोमै दसै मनाएका छन्।
जिल्ला प्रशासन कार्यलय कैलालीका कर्मचारीले एकआपसमा शुभकामना आदानप्रदान गरेर दसंै मनाएका छन्। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यस वर्ष दसैं नभएका कारण आफ्नो मातहतका कर्मचारीलाई भने टीका लगाउन पाएनन्। प्रमुख जिल्ला अधिकारीले टीका लगाउन नपाए पनि अन्य कर्मचरीहरुले भने एकआपसमा टीका लगाउदै शुभकामना दिएर दसैं कर्मथलोमै मनाएका छन्। दसैं उत्साहपूर्ण भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
‘दसैंमा घर जान नपाएका कर्मचरीले रमाइलोसँग नै दसैं मनायौं,’ उनले भने, ‘केही कर्मचरीहरु दसैं मान्नका लागि घर समेत गएका छन्।’ कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि दसैं आफ्ना मातहतका कर्मचारीलाई टीका लगाएर मनाएका छन्। अन्य यूनिटमा पनि इन्चार्जले आफ्नो मातहत रहेका प्रहरी कर्मचारीलाई टीका लगाएका छन्।
नजिक घर भएका प्रहरी कर्मचारीलाई भने आलोपालो गरेर दसैंको टीका लगाउन घरमा समेत पठाइएको छ। तर अधिकांश प्रहरीले कर्मथलोमै दशैं मनाएका छन्। नागरिकलाई सुरक्षा दिनु नै आफ्नो दसैं भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी बताउँछन्। ‘हाम्रो दसैं कर्मथालेमै वितेको छ। नागरिकलाई सुरक्षा दिनु नै हाम्रो लागि दसैं हो।
आफ्ना मातहतका कर्मचारीलाई मैले पनि टीका लगाइदिएको छु। युनिट इन्चार्जहरुले आफ्ना कर्मचारीलाई टीका लगाएर दसैं मनाएका छन्,’ उनले भने। घर जान नपाए पनि तीन वटै सुरक्षा निकायले आफ्नो ब्यारेक तथा आफ्नो ड्युटी परेको ठाउँलाई आफ्नै घर सम्झेर दसैं मनाएको बताएका छन्।
सञ्चार माध्यममा पत्रिका बन्द भए पनि विद्युतिय सञ्चार माध्यम रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकारको दसैं पनि कार्यथलोमै बितेको छ। केही स्वास्थ्यकर्मीको पनि दसैं कर्मथलोमा बितेको छ।