डोटीका ‘हजारी’ टिकटकमा भाइरल
धनगढीः ‘ए लौ हजारीऊँ ! तमरी इज्याका चेलाऊँ ! चेला त चेला रे तम जस चेला कैका हुन्ना लौ’ ! यो कथन नसुन्ने टिकटक प्रयोगकर्ता सयदै होलान्। डोटीको शिखर नगरपालिका वडा नम्बर ३ आलिअतुरालीका ‘निश्चल’ नरेश बोगटी यही कथनबाट युवा पुस्ताले अधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा चर्चाको शिखर उक्लिरहेका छन्।
सबैले बुझ्ने भाषामा भन्नु पर्दा उनी टीकटकका एक भइरल पात्र हुन्। टिपिकल डोटेली शब्द प्रयोग गरेर उनले पस्किने टिकटक भिडियोहरु औधी रुचाइएका छन्। विद्यार्थी जीवनदेखि नै अरुको नक्कल(क्यारिकेचर) गर्न मोहित हुने निश्चल विभिन्न स्टेज कार्यक्रम पनि सञ्चालन गर्दै आएका थिए। सोही क्रममा उनलाई डोटीको एक स्थानीय रेडियोमा काम गर्ने मौका पनि मिल्यो।
रेडियोमा काम गर्दै जाँदा उनले विभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने आवसर पनि पाए। सोही समयमा सामाजिक सञ्जाल टीकटक पनि प्रयोगमा अयो। सुरु–सुरुमा उनले अरुले बनाएका टिकटक हेरेर मनोरन्जन मात्रै लिने गरेका थिए। धेरै टिकटक प्रयोगकर्ताको भिडियो हेर्दै जाँदा आफ्नै आवाजमा भिडियो तयार गरेर पोष्ट गर्ने सोच आएको उनी बताउँछन्। ‘सुरुवातमा क्यारिकेचर र सुदूरपश्चिममा बोलिने टिपिकल डोटेली भाषालाई प्रयोग गरेर भिडियो बनाउन थाले,’ उनले भने, ‘त्यस्ता भिडियोहरु चल्न थालेपछि म टीकटकप्रति मोहित भएको हुँ।’
डोटीका ‘निश्चल’ नरेश बोगटी आफ्नो नामले भन्दा पनि अझै बढी चर्चामा उनी आफैले राखेको थेगोबाट छन्। उनले टिकटक सुरुवात गर्ने बेलादेखि नै ‘एलाऊ हजारीऊ’ ! भन्ने थेगो चर्चामा छ। हजारी भनेको डोटेली भाषामा ठुलो मान्छेले आफु भन्दा सानो मान्छेलाई मायाले बोलाउने शब्द रहेको उनी बताउँछन्। अहिले टिकटकबाटै लाखौंदेखि करोडसम्म कमाएका दाबीहरु सार्वजनिक भइरहेका छन्। तर बोगटी टिकटक लाइभमा त्यति धेरै देखिदैनन्। यद्यपि टिकटकबाट पैँसा कमाउन सकिन्छ भन्ने विश्वास उनलाई छ।
टिकटकमा डोटेली भाषा, क्यारिकेचर गरेर चर्चा कमाएका डोटीका हजारी उर्फ ‘निश्चल’ नरेश बोगटी हास्य टेलिश्रीङ्खला खेल्ने योजना भएको बताउँछन्। सुदूरपश्चिमसहित काठमाडौंबाट उत्पादित टेलिश्रीङ्खलामा स्थान पाए आफ्नो जीवनलाई कलाकारितामा अर्पण गर्ने योजना रहेको उनले दिनेशखबरसँगको कुराकानी बताए। ‘मैले सुरुवात देखि नै विभिन्न व्यक्तिको क्यारिकेचर गर्दै आएको छु। स्थान पाए टेलिश्रीङ्खला खेल्छु’ उनले भने।
टिकटकमा मनोरन्जनका लागि कमेडी भिडियो पोष्ट गरेपनि उक्त भिडियोमा विभिन्न सन्देशपनि प्रवाह भएको बुझाई बोगटीको छ। यस क्षेत्रको मौलिक भाषा, संस्कृतीलई पनि देशभर चिनाउन आफ्नो टिकटक भिडियोले केही भूमिका खेलेको तर्क उनको छ। आजको मितिसम्म ‘निश्चल’ नरेश बोगटी उर्फ हजारीले टिकटकमा ४५ लाख भन्दा बढी लाइक पाएका छन् भने ८१ हजार भन्दा बढीले उनलाई फ्अलो गरेका छन्।