सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानलाई अनुदान रकम वितरण

२०७८ साउन २४, ०८:३९ रासस

स्याङ्जाः गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ। नगरपालिका–२ बटुवाका किसानलाई अनुदानस्वरुप रु १९ लाख ५७५ वितरण गरेको नगरपालिकाले जनाएको।

नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटरमा रु १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमअन्तर्गत पनि अनुदान वितरण गरेको छ। उत्पादनका आधारमा प्रतिलिटर १५ का दरले ६६ किसानलाई रु ११ लाख ८६ हजार ५७५ र गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत १७ किसानलाई जनही रु ७२ हजारका दरले रु सात लाख १४ हजार वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख भूपराज अधिकारीले अनुदान कार्यक्रमले नगरभित्रका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेसाप्रति आकर्षित गरेको छ।” यसबाट किसानहरु आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ।  

नगरप्रमुख अधिकारीले कृषिको बजारीकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको प्रत्याभूति नगरपालिकाले लिएको जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यमा किसानहरु उत्साहित भएर लागेकाले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए।

नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले कृषक टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको जानकारी दिए। अर्यालका अनुसार रानाले प्रतिलिटर १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ ४० पैसा प्राप्त गरेका छन्। यसैगरी रानाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत रु ४२ हजार अनुदानसमेत प्राप्त गरे। नगरपालिकाको यो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुगेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस