सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भारत जाने नेपालीमाथि ट्राभल्स कम्पनीको ज्यादती

भारतमा आफन्तको हत्या भएको भन्दै धनगढीको ट्राभल्स कम्पनीमा ढुंगामुडा प्रहार हुन थालेपछि परिचालित भएका सुरक्षाकर्मी
भारतमा आफन्तको हत्या भएको भन्दै धनगढीको ट्राभल्स कम्पनीमा ढुंगामुडा प्रहार हुन थालेपछि परिचालित भएका सुरक्षाकर्मी
२०७८ साउन २३, ०६:२४ रोशन भट्ट

धनगढीः कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा मृत्यु भयो। साउन १५ गते धनगढीबाट हिँडेका आचार्यको बैंग्लोर नपुग्दै बाटोमै मृत्यु भएको थियो। 

पशुपती टुर एण्ड ट्राभल्र्समार्फत भारत गएका आचार्यको मानसिक अवस्था बिग्रिएपछि गाडीबाट आफै हाम फालेको दाबी ट्राभल्सले गर्दै आएको छ।  तर शवको प्रकृति हेर्दा हत्या भएको देखिएको मृतक आचार्यका दाई लक्ष्मीनारायणले बताए। ‘शवको अवस्था हेर्दा पनि थाहा हुन्छ मृत्यु हो हो कि हत्या भनेर,’ उनले भने, ‘अब जे हुनु थियो भइहाल्यो, त्यसको वास्तविक रिपोर्ट चाहिन्छ।’

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट आधा दर्जन बढी ट्राभल्स कम्पनीले भारतमा यात्रु ओसारपसार गर्दै आएका छन्। भारतको बैंग्लोर, दिल्ली, पन्जाब, मुम्बई लगायतका विभिन्न सहरहरुमा यात्रु ओसार्ने ट्राभल्र्स एजेन्सीमाथि अनावश्यक दुःख दिने गरेको आरोप बेलबखत लाग्दै आएको छ। धनगढीबाट सिधै गन्तव्यमा पुगाउने भन्दै यात्रु बोकेका एजेन्सीले बीच बाटोमा गाडी परिवर्तन गर्ने, यात्रुलाई अलपत्र छाड्ने, दोब्बर भाडा असुल्ने गर्दै आएको गुनासो बढ्दै छ। 

बाटोमा अलपत्र छाड्ने एजेन्सीलाई कारवाही गर्नुपर्ने धनगढीदेखि भारतका विभिन्न सहरमा यात्रु ओसार्दै आएको पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक विष्टले बताए। ‘हाम्रा नेपाली दाजुभाईहरु पनि रक्सीको नशामा हुन्छन्, हामीले नै गाडीमा राख्नुपर्छ,’ उनले भने, ‘बाटोमा छाड्ने, भाडा बढी लिने एजेन्सीलाई कारवाही हुनुपर्छ।’

धनगढीबाट भारतका विभिन्न सहरहरुमा गाडी सञ्चालन गर्ने एजेन्सीहरुले विगत लामो समयदेखि यात्रुहरुलाई समस्या पार्दै आएको भएपनि सरोकारवाला निकाय उदासिन देखिएका छन्। दोब्बर भाडा असुल्ने तथा यात्रुलाई दुःख दिने एजेन्सीहरु अहिलेसम्म पनि कारबाहीको दायरामा आउन सकेका छैनन्। भारत जाने यात्रुसँग भाडाको विषयमा नेपालमा सम्झौता हुने र नाका पार गरेपछि कारोबार हुने गरेका कारण पनि ठगिएको तथा दुःख दिएको ठोस प्रमाण भेटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। 

‘हमीले यसमा निगरानी राखेका छौं। यत्रुहरुको टिकट हेर्ने र सोधपुछ गर्ने कार्य पनि गरिरहेका छौं’ उनले भने, ‘गलत गर्नेहरुलाई कारवाही नभएकै कारण प्रोत्साहित भएका हुन भने हामी निरुत्साहित गर्छौ। आगामी दिनमा गलत गर्नेहरुलाई कारवाही गछौं।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस