सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडक किन टिक्दैनन् ६ महिना ?

२०७८ साउन १९, ०७:०९ रोशन भट्ट

धनगढी : धनगढी उपमहानगरपालिकाले झण्डै करोडको लागतमा मुख्य सडकमा गरेको कालोपत्रे साउने झरीले बगाइदिएको छ। सात महिनामै मुख्य सडकमा कयौँ खाल्टाखुल्टी परेका छन्। कालोपत्रे बगाएपछि अहिले मुख्य सडकको नै दुर्दशा छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्ने पुरानो विमानस्थल शिविरमा ४ वर्ष अगाडि सडक कालोपत्रे गरिएको थियो। तत्कालिन जिल्ला विकास समितिले ५ लाख बजेटमा एक सय मिटर लम्बाइको उक्त सडक कालोपत्रे गरेको थियो। उपभोत्ता समितिमार्फत कालोपत्रे गरिएको उक्त सडक भत्किन भने एक वर्ष पनि लागेको थिएन।

पछिल्लो समय सडकमा आवतजावत नै गर्न मुस्किल भएपछि स्थानीयले धनगढी उप–महानगरपालिकालाई मर्मतका लागि आग्रह गरेका थिए। तर जनप्रतिनिधिले वेवास्ता गरेपछि उक्त टोलका स्थानीय आफैँ मिलेर खाल्डा पुर्नका लागि ग्रावेल हालेको स्थानीय रुपादेवी चौधरीले बताउँछिन्। ‘उपमहानगरपालिकालाई भन्दा हाम्रो कुरा सुनेन,’ उनले भनिन्, ‘आवातजावात गर्न नै समस्या भएपछि हामी आफँै मिलेर ग्रावेल हालेको हौँ।’

उपमहानगरमै कालोपत्रे भएका अन्य आधा दर्जन बढी सडक ६ महिना नपुग्दै भत्किएका छन्। सडक निर्माणमा कमसल सामाग्री प्रयोग हुने, निर्माण कम्पनीले लापरबाही गर्ने र विकासे अड्डाका कर्मचारी कमिसनमा लाग्ने कारणले धनगढीमा सडकको आयु एक वर्षभन्दा पनि कम हुन थालेको आरोप लाग्दै आएको छ।

कतिपय स्थानमा त एक हप्तामै सडक भत्किने, घाँस पलाउने, किनारको भाग भासिने लगायतका समस्याहरु पनि देखिने गरेको धनगढीका अर्का स्थानीय नरेन्द्र राज बडूले बताए।

‘धनगढीमा निर्माण भएका सडक १५ दिनमा भत्किएका पनि छन्,’ उनले भने, ‘यस्तो सडक बनाउनुको कुनै अर्थ छैन।’ दीर्घकालिन पुरुपमा प्रयोग गर्न मिल्ने सडक बनाउनु पर्ने धारणा उनको थियो। कालोपत्रे सडकको मापदण्ड पूरा गर्नका लागि सुरुवातमा माटो परीक्षण गर्नुपर्ने प्रावधान छ।

सव–बेसको काम गर्दा पनि माटो, बालुवा र गिट्टीको साइज मिलेको ग्रावेल प्रयोग गर्नुपर्ने, ६० प्रतिशत अलकत्रामा ४० प्रतिशत मट्टितेल प्रयोग गर्नुपर्ने मापदण्ड छ। यी सबै मापदण्ड पूरा भएपछि प्रिमेक्स प्रविधिबाट कालोपत्रे हुने सडकको आयु तीन वर्ष हुने गरेको छ। तर धनगढीमा प्रिमेक्स प्रविधिबाट कालोपत्रे हुने सबै सडकहरुमा यो मापदण्ड पूरा हुन सकेको छैन।

त्यसकारण पनि कालोपत्रे सडकलाई ६ महिना पनि टिकाउन मुस्किल भइरहेको छ। मापदण्ड पुरा गरेपछि सडक बलियो बनाउन सकिने धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले बताए।

‘सुरुवातमा त माटो परीक्षण गर्नु पर्छ। हाम्रो यता हुने गरेको छैन। मोटो परीक्षण गर्ने हो भने पनि हामीसँग बजेट पुग्दैन,’ इन्जिनियर भट्टले भने।

धनगढीमा निर्माण भएका सडकको आयु तीन वर्ष मानिए पनि प्रत्येक वर्ष मर्मत गर्नु पर्ने प्रावधान बनाइएको छ। उक्त सडकमा हरेक वर्ष लेयर थप्नु पर्ने हुन्छ। धनगढीमा हालसम्म मोहना पुल अत्तिरिया ६ लेन सडक मात्रै उच्च प्रविधिबाट बनेको छ। जसको आयु ७ वर्ष हुने बताइएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस